काठमाडौं- शहिद दशरथ चन्द चिकित्सा विज्ञान विश्वविद्यालय गेटाको चौथो सभा सुरु भएको छ। सहकुलपति समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको उपस्थितिमा उपकुलपति प्राडा. सुनिल कुमार जोशी, रजिस्ट्रार डा. खेमराज जोशी, कार्यकारी परिषद् सदस्य डा. भीम बहादुर चन्दलगायत सहभागी छन्।
आगामी शैक्षिक सत्रबाट ४ वटा विषयमा अध्ययन/अध्यापन गराउने गरी तयारी थालिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले त्यसका लागि 'ग्रिन सिग्नल' दिएका छन्।
उपकुलपति प्राडा जोशीका अनुसार एमबीबीएसमा ५० सिट, बीएससी नर्सिङमा ३० सिट, बीएससी एमएलटीमा २० सिट र बी अप्टोमेट्रीमा २० सिटका लागि चिकित्सा शिक्षा आयोगमा फारम भरिएको छ। विश्वविद्यालयले दीर्घकालमा एमडी/एमएस/पीएचडी गरी १७ वटा कार्यक्रम चलाउने तयारी गरेको छ।
यही शैक्षिक सत्रबाट पठन-पाठन सुरु गर्न आवश्यक प्रक्रिया पूरा गर्नका लागि सभा बसेको हो। सभाअघि उक्त विश्वविद्यालय सञ्चालनका लागि शिक्षामन्त्री पोखरेल, अर्थमन्त्री स्वर्णिम वाग्ले र प्रधामन्त्री शाहलाई सकारात्मक बनाउन पहल गर्ने कैलाली-५ का सांसद डा आनन्द बहादुर चन्द, कैलाली- २ का सांसद केपी खनालले पदाधिकारीसँग छलफल गरेका थिए। विश्वविद्यालयको आफ्नै गरिमा हुने भन्दै सभा सुरु हुनुअघि नै उनीहरु बाहिरिएका थिए।
डा चन्दले भने, 'म विश्वविद्यालयमै १७ वर्ष काम गरेर आएको हुनाले यसको गरिमा बुझ्दछु र त्यसलाई जोगाउने दायित्व पनि हाम्रै ठानेर सभामा बसेनौं। तर, हाम्रो साथ, समर्थन र सहयोग रहन्छ भनेर ऐक्यबद्धता जनाएर निस्किएका छौं।'
गेटामा २०७९ देखि गेटामा ५० शैय्याको अस्पताल सञ्चालनमा छ भने थप शैय्याका लागि सेती, महाकाली र टीकापुर प्रादेशिक अस्पताल आवद्ध गर्ने तय भएको छ। चिकित्सा शिक्षा आयोगले ती अस्पताललाई समेत शिक्षण अस्पतालका रूपमा प्रयोग गर्नेगरी प्रदेश सरकारको सहमति मागेकोमा प्राप्त भइसकेको विश्वविद्यालयका पदाधिकारी बताउँछन्।
त्यसैगरी ७७ जना शिक्षकका लागि दरखास्त आह्वान गरिएको छ। ३०४ जनाले दरखास्त दिएका छन्। वैशाखमा छनोट प्रक्रिया थालिने उनले बताएका छन्।