काठमाडौं– नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको १० वर्ष पूरा हुँदा बीमित संख्या ५६ लाख पुगेको छ। तर, करिब ४० प्रतिशतले नवीकरण नगर्दा कार्यक्रमको दिगोपनामा चुनौती देखिएको छ।
दशौं स्वास्थ्य बीमा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलले स्वास्थ्य बीमामा समस्या भए पनि सुधार सम्भव रहेको बताए।
“विभिन्न अस्पतालमा सेवा अवरुद्ध भएका गुनासा र चुनौतीहरूको सूचना आइरहेका छन्,” उनले भने, “जति समस्या र चुनौती छन्, समाधान गर्न नसकिने छैन।”
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए। स्वास्थ्य बीमालाई हरेक नागरिकको अभिन्न अंग बनाउन बोर्डले स्पष्ट खाका बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डिल्लीराम शर्माले कार्यक्रम प्रभावकारी बनाउन सबै निकाय एकजुट हुनुपर्नेमा जोड दिए। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर बहादुर ढकालले संघर्षमा भएपनि यही संघर्षबाट हामी सफल हुने बाटोमा अघि बढिरहेको उल्लेख गरे। त्यस्तै मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठले स्वास्थ्य बीमालाई सफल बनाए मात्रै आमजनको स्वास्थ्य अधिकार सुनिश्चित हुने उल्लेख गरे।
बोर्डका अध्यक्ष चन्द्र बहादुर थापाले स्वास्थ्य बीमा कार्यक्रम र सामाजिक सुरक्षा कोषको तुलना गर्न नमिल्ने उनले बताए। उनले भने, 'त्यहाँ औपचारिक क्षेत्रबाट बीमित हुनुहुन्छ । यहाँ अनौपचारिक क्षेत्रका नागरिक बिरामी भएपछि विमित हुने गरेका छन्। बिरामी भएनन् भने नवीकरण समेत गर्दैनन्। औपचारिक क्षेत्रका नागरिक पनि आवद्ध गरियो भने मात्रै सहज हुन्छ। '
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको एक दशकमा नेपालमा यसको पहुँच र बीमित संख्यामा उल्लेखनीय वृद्धि भएको छ। तर, नवीकरण दरमा गिरावट, वित्तीय अभाव र जनशक्ति व्यवस्थापनजस्ता चुनौतीहरूले कार्यक्रमको दिगोपनामा गम्भीर प्रश्न खडा गरेका छन्।
२०७२ चैत २५ गते कैलाली जिल्लाबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिले देशका ७७ वटै जिल्ला र ७५० स्थानीय तहमा विस्तार भइसकेको छ। हाल देशभर ४२५ स्वास्थ्य संस्थाहरू ‘प्रथम सेवा बिन्दु’का रूपमा सञ्चालनमा रहेका छन्। यद्यपि, अझै ३८२ स्थानीय तहमा कम्तीमा एउटा सेवा बिन्दु आवश्यक देखिन्छ, जसले पहुँच विस्तार अझै अपूर्ण रहेको संकेत गर्छ।
बीमित संख्यामा उल्लेखनीय वृद्धि भएको छ। सन् २०१६ मा ३२ हजार रहेको बीमित संख्या २०२४ सम्म आइपुग्दा ५६ लाख ८० हजार पुगेको छ, जुन ८ वर्षको अवधिमा १७८ गुणाले वृद्धि हो। यसले कार्यक्रमप्रति जनविश्वास बढेको देखाए पनि निरन्तरता कायम राख्ने चुनौती कायमै छ।
हाल ५०५ स्वास्थ्य सेवा प्रदायक संस्था कार्यक्रममा आबद्ध छन्। तर, कार्यक्रमका चुनौतीहरू अझै गम्भीर छन्। सबैभन्दा ठूलो समस्या नवीकरण दरमा देखिएको गिरावट हो। कुल ९८ लाख ७४ हजार बीमितमध्ये सक्रिय बीमित संख्या ५९ लाख ७० हजार मात्र रहेको छ। यसअनुसार करिब ४० प्रतिशतले बीमा नवीकरण नगरेको देखिन्छ, जसले कार्यक्रमको दीर्घकालीन स्थायित्वमा असर पार्न सक्छ।
वित्तीय पक्ष पनि कमजोर बन्दै गएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब २६ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। हालको ३,५०० रुपैयाँ प्रिमियमले उपचार खर्चको करिब २५ प्रतिशत मात्र धान्न सक्ने अवस्था छ। मेडिकल मुद्रास्फीतिका कारण प्रिमियम दर पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
स्वास्थ्य बीमा कार्यक्रमले पहुँच र सहभागितामा उल्लेखनीय प्रगति हासिल गरे पनि नवीकरण दर, वित्तीय स्रोत र व्यवस्थापन सुधार नगरेसम्म यसको दिगोपनामा चुनौती कायम रहने देखिन्छ।