काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार विभिन्न सप्लायर कम्पनी तथा ठेकेदारलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल पास गर्ने क्रममा दाहालले घुस लिएको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा टंगालबाट खटिएको टोलीले दाहाललाई रु. १,२०,८५० नगदसहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट दाहालले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी दिने प्रक्रियामा गैरकानुनी लाभ लिने उद्देश्य राखी योजनाबद्ध रूपमा विभिन्न कम्पनी तथा फर्मका प्रतिनिधिसँग मोलमोलाई गर्दै घुस लिने–दिने सर्तमा भुक्तानी प्रक्रिया अगाडि बढाएको खुलेको आयोगले जनाएको छ।
यस क्रममा उनले सेवाग्राहीबाट रु. ९३,८५० घुस लिएको पुष्टि भएको आयोगको दाबी छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर ठहर हुने भएकाले सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम मुद्दा दायर गरिएको हो। आयोगले दाहालविरुद्ध बिगो रु. ९३,८५० कायम गरी कैद तथा सोही बराबरको जरिवाना सजायको मागदाबी गरेको छ।
सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार मुद्दा सम्बन्धी थप प्रक्रिया विशेष अदालत काठमाडौंमा अगाडि बढ्नेछ।