काठमाडौं - नेपाली वैज्ञानिकहरूको टोलीले मेथीपानीको औषधीय तथा सौन्दर्यसम्बन्धी उपयोगिताबारे गरेको नयाँ अनुसन्धानले यसलाई मधुमेह नियन्त्रण र छाला सुरक्षामा प्रभावकारी प्राकृतिक विकल्पका रूपमा प्रस्तुत गरेको छ।
सद्दाम हुसेन धोबी, प्रमोद सुवेदी, विष्णु न्यौपाने, दिक्ष्या मुल्मी र दीपेन्द्र दास मुल्मीको संयुक्त अध्ययन ‘साइन्टिफिक रिपोर्ट’ जर्नलमा प्रकाशित भएको हो। अनुसन्धानले मेथीपानीको संरचनात्मक, अप्टिकल तथा जैविक गुणहरू विश्लेषण गर्दै यसको स्वास्थ्य र सौन्दर्य क्षेत्रमा उपयोगिता पुष्टि गरेको छ।
अध्ययनअनुसार मेथीपानीले चिनी घोलसँग अन्तरक्रिया गर्दा यसको अवशोषणमा उल्लेखनीय परिवर्तन ल्याउँछ, जसले मधुमेह नियन्त्रणमा यसको सम्भावित भूमिका देखाउँछ। विशेषगरी मेथीपानीको मात्रा बढेसँगै अवशोषण बढ्ने र चिनीको मात्रा बढ्दा घट्ने प्रवृत्तिले यसको जैविक प्रभावलाई संकेत गर्छ।
एक्स–रे डिफ्र्याक्सन विश्लेषणले मेथीको संरचनात्मक स्थायित्व कायम रहने देखाएको छ भने FTIR परीक्षणले लामो समय भिजाउँदा बढी जैविक यौगिक पानीमा मिसिने र यसको स्वास्थ्य लाभ बढ्ने देखाएको छ। यसले मेथीपानीलाई प्राकृतिक ‘ग्रीन क्याटालिस्ट’ का रूपमा प्रयोग गर्न सकिने सम्भावना बलियो बनाएको छ।
छाला सुरक्षाको क्षेत्रमा पनि मेथीपानी प्रभावकारी देखिएको छ। अनुसन्धानमा सनस्क्रिन क्रिमसँग मिसाउँदा यसको युभी अवशोषण क्षमता बढेको पाइएको छ। विशेषगरी १८ घण्टापछि ३०० एनएम र ३०५ एनएम तरंगदैर्ध्यमा उच्च एसपीएफ देखिएको छ, जसले छालालाई सूर्यको हानिकारक किरणबाट थप सुरक्षा दिन सक्ने संकेत गर्छ।
यसैगरी, मेथीपानीको एन्टिअक्सिडेन्ट गतिविधि दोस्रो दिन उच्चतम अवस्थामा पुगेको देखिएको छ, जसले यसलाई छालाको स्वास्थ्य सुधार र फ्री र्याडिकल नियन्त्रणमा उपयोगी बनाउँछ।
अनुसन्धानले मेथीपानीको पीएचस्तर तुलनात्मक रूपमा स्थिर (८–९) रहने र तापक्रम बढ्दा केही घट्ने देखाएको छ, जसले यसको प्रभावकारितामा ठूलो असर नपर्ने संकेत गर्दछ।
समग्रमा, अध्ययनले मेथीपानीलाई औषधि र सौन्दर्य प्रसाधन उद्योगमा प्रयोग गर्न सकिने सुरक्षित, प्राकृतिक र प्रभावकारी विकल्पका रूपमा चिनाएको छ। अनुसन्धानकर्ताहरूका अनुसार यसले भविष्यमा मधुमेह नियन्त्रण तथा छाला संरक्षणका नयाँ उत्पादन विकासमा मार्ग प्रशस्त गर्नेछ।