धनगढी - आगामी शैक्षिक सत्रदेखि शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पठनपाठन सुरु गर्न आवश्यक सबै तयारी पूरा गर्ने निर्णय गरिएको छ। विश्वविद्यालयका सहकुलपति तथा शिक्षा मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभाको बैठकले उक्त निर्णय गरेको हो।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीका अनुसार आगामी शैक्षिक सत्रदेखि अध्ययन–अध्यापन सुरु गर्न आवश्यक सम्पूर्ण तयारी अघि बढाइनेछ। यसका लागि आवश्यक फ्याकल्टी जेठ महिनादेखि नै नियुक्त गर्ने निर्णय गरिएको छ। ७७ पदका लागि दरखास्त आह्वान गरिएकामा ३०० भन्दा बढी आवेदन परेको विश्वविद्यालयले जनाएको छ।
सभाले ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक तयारी गर्ने निर्णयसमेत गरेको छ। हाल गेटामा ५० शय्याको अस्पताल सञ्चालनमा रहेको छ। साथै, सेती, टीकापुर र महाकाली प्रादेशिक अस्पताललाई समेत शिक्षण अस्पतालका रूपमा उपयोग गर्ने गरी अनुमति लिइएको जनाइएको छ।
प्रा.डा. जोशीका अनुसार आगामी शैक्षिक सत्रदेखि एमबीबीएसमा ५०, बीएस्सी नर्सिङमा २०, बीएमएलटीमा २० र बी अप्टोमेट्रीमा २० सिट गरी कुल १२० सिटमा अध्यापन सुरु गर्ने तयारी गरिएको छ। यसका लागि आवश्यक नियमावली तथा कार्यविधिमाथि पनि छलफल गरिएको छ।
यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७५ प्रतिशत छात्रवृत्तिका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गरिसकेको छ। आर्थिक वर्ष ०८२/८३ को जेठ र असारका लागि चिकित्सकहरूको तलबबापत पाँच करोड रुपैयाँ बजेट प्राप्त भएको छ भने आगामी वर्षका लागि प्रस्तावित दुई अर्ब ५३ करोड रुपैयाँ बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह तथा उनको सचिवालयले यस विषयलाई प्राथमिकताका साथ लिएको उपकुलपति जोशीले बताए। सुदूरपश्चिमको प्राथमिक परियोजनाका रूपमा रहेको यस विश्वविद्यालय सञ्चालनका लागि प्रतिनिधि सभा सदस्य डा. आनन्दबहादुर चन्द र केपी खनाललगायतले पनि सक्रिय पहल गरिरहेका छन्। विश्वविद्यालय सभाअघि उनीहरूले पदाधिकारीहरूसँग भेटेर सञ्चालनमा ल्याउने गरी सवै आन्तरिक तयारी पूरा गर्न आग्रह गरेका थिए।