काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गर्दै आएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलनको १२औँ संस्करण यही चैत २७ देखि २९ गते (अप्रिल १०–१२) सम्म काठमाडौंस्थित सोल्टी होटलमा आयोजना हुने भएको छ।
परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार यस वर्षको सम्मेलन “नेपालमा स्वास्थ्य अनुसन्धान सुशासनका लागि प्रमाणमा आधारित निर्णय तथा कार्यान्वयन प्रक्रिया” भन्ने नाराका साथ आयोजना हुन लागेको हो। सम्मेलनले स्वास्थ्य क्षेत्रका राष्ट्रिय तथा विश्वव्यापी चुनौतीहरूको समाधानका लागि अनुसन्धान, नीति र अभ्यासबीचको सम्बन्ध सुदृढ पार्ने उद्देश्य लिएको छ।
सम्मेलनको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा १२०० भन्दा बढी राष्ट्रिय सहभागी तथा बेलायत, अमेरिका, भारत, फिलिपिन्स, अष्ट्रेलिया, कोरिया र युरोपका केही अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहनेछ। मध्यपूर्व क्षेत्रको अस्थिरताका कारण यस वर्ष अन्तर्राष्ट्रिय सहभागीको संख्या केही घटेको परिषद्ले जनाएको छ।
यसपटक सम्मेलनका लागि प्राप्त ४६५ वटा ‘एब्स्ट्र्याक्ट’मध्ये ९१ वटा मौखिक प्रस्तुति र १२० वटा पोस्टर प्रस्तुति छनोट गरिएको छ। तीन दिने सम्मेलनमा एक प्लेनरी सेसन, ३५ आमन्त्रित प्रस्तुति, १२ समानान्तर सत्र र पाँच प्यानल छलफल समावेश हुनेछन्।
सम्मेलनमा नसर्ने रोग, प्रजनन स्वास्थ्य, मातृ तथा बाल स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य प्रविधि र कृत्रिम बुद्धिमत्ता, स्वास्थ्य सुशासन, संक्रामक रोग तथा महामारी तयारी, जलवायु परिवर्तन, पोषण तथा खाद्य सुरक्षा, स्वास्थ्य बीमा, जनसंख्या तथा डेमोग्राफी लगायत विविध विषयमा छलफल गरिनेछ।
यसैगरी, अनुसन्धान नियमन र नैतिकता, क्लिनिकल ट्रायल सञ्चालन, शैक्षिक संस्था र स्वास्थ्य उद्योगबीच सहकार्य, तथा स्वास्थ्य परिणाम सुधारमा बहु-क्षेत्रीय साझेदारीजस्ता विषयमा विज्ञहरूबीच प्यानल छलफल हुनेछन्।
सम्मेलनका अवसरमा स्वास्थ्य अनुसन्धान क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई विभिन्न विधामा सम्मान गरिनेछ। जसमा उत्कृष्ट अनुसन्धान पत्र, उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता, युवा अनुसन्धानकर्ता, आजीवन योगदान पुरस्कार, उत्कृष्ट मौखिक तथा पोस्टर प्रस्तुति लगायतका पुरस्कारहरू समावेश छन्।
परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले सम्मेलनले स्वास्थ्य अनुसन्धानको गुणस्तर अभिवृद्धि, नीति निर्माणमा प्रमाणको प्रयोग प्रवर्द्धन तथा अनुसन्धानकर्ता, शैक्षिक संस्था र स्वास्थ्य उद्योगबीच सहकार्य विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।