काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई सचेत गराउन प्रधानमन्त्रीलाई सिफारिस गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहले पदीय मर्यादा विपरित कार्य गर्दा पनि स्वास्थ्य मन्त्रालयले आवश्यक गम्भीरता नदेखाएको भन्दै सभापति लामिछानेले यस्तो कदम चालेका हुन्।
बिहीबार प्रधानमन्त्रीलाई पत्र लेख्दै लामिछानेले मन्त्री साहलाई पदबाट फिर्ता बोलाउन र मन्त्री मेहतालाई सचेत गराउन सिफारिस गरेका छन्।
के हो विवाद?
म मन्त्री दीपक कुमार साहले पदीय मर्यादाको दुरुपयोग गरी आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियमित गराएको रास्वपाको केन्द्रीय अनुशासन आयोगको अध्ययनले देखाएको पत्रमा उल्लेख छ।
स्वास्थ्य बीमा बोर्ड स्वास्थ्य मन्त्रालय मातहतको निकाय हो। मन्त्री साहले आफ्नी श्रीमतीलाई बोर्डमा पुन: सक्रिय गराउन प्रभाव पार्दा स्वास्थ्य मन्त्री मेहताले त्यसलाई रोक्न वा आवश्यक गम्भीरता देखाउन नसकेको रास्वपाको निष्कर्ष छ।
'यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखिएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु,' पत्रमा भनिएको छ।
सभापति लामिछानेले पार्टी विधानको धारा ६९ मा रहेको 'राइट टु रिकल' (जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था) प्रयोग गर्दै श्रम मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न समेत भनेका छन्।