काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई पदीय जिम्मेवारीमा गम्भीर नदेखिएको भन्दै सचेत गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई बिहीबार सचेत गराएका हुन्।
श्रम मन्त्री दीपक कुमार साहले पदीय मर्यादा दुरुपयोग गरी आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियम विपरित सक्रिय गराउँदा पनि स्वास्थ्य मन्त्रालय मौन बसेको भन्दै रास्वपाले प्रश्न उठाएको थियो। मन्त्रालय मातहतको निकायमा भएको यस्तो गम्भीर चलखेलमा स्वास्थ्य मन्त्रीले अपेक्षित गम्भीरता र नियन्त्रण नगरेको रास्वपाको ठहर छ।
रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ, 'यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखिएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु।'
सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई मन्त्रालयको कामकारबाही र नियमनमा चनाखो रहन निर्देशन दिँदै सचेत गराएका हुन्। यसै प्रकरणमा जोडिएका श्रम मन्त्री दीपक कुमार साहलाई भने प्रधानमन्त्रीले बिहीबार नै पदमुक्त गरिसकेका छन्।