काठमाडौं- सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक विदा दिने व्यवस्था लागू गरेसँगै स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्ने तयारी गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल र सम्बन्धित निकायलाई सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार चैत्र २२ गते राजपत्रमा प्रकाशित सूचनापछि लागू भएको नयाँ विदा व्यवस्थाले स्वास्थ्य सेवा प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मन्त्रालयले विशेष कार्ययोजना अघि सारेको जनाएको छ।
मन्त्रालयका अनुसार अस्पतालहरूले आफ्नो कार्यभार र उपलब्ध जनशक्ति हेरेर आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ। कर्मचारी व्यवस्थापनतर्फ भने हप्तामा शनिबार बाहेक अर्को एक दिन विदा दिने व्यवस्था गरिनेछ। यदि सो अनुसार विदा दिन सम्भव नभए सट्टा विदा उपलब्ध गराइने व्यवस्था गरिने मन्त्रालयले स्पष्ट पारेको छ।
यसैगरी, उक्त व्यवस्था देशभरका प्रादेशिक अस्पतालहरूमा समेत लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको छ।
मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सार्वजनिक विदाका कारण स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो। उनले सेवाग्राहीलाई नियमित रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सबै निकायलाई समन्वयात्मक रूपमा काम गर्न आग्रह गरेका छन्।
