काठमाडौं- नेपाल सरकार अन्तर्गतको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले औषधिको मूल्य निर्धारण प्रक्रियामा अनियमितता भएको आशंकामा छानबिन समिति गठन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लाई निर्देशन दिएको छ।
कार्यालयबाट जारी पत्रअनुसार औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको भन्ने उजुरी प्राप्त भएपछि यसबारे छानबिन अघि बढाइएको हो।
पत्रमा मन्त्रालयलाई विषयगत विज्ञको संलग्नतामा तीन सदस्यीय समिति गठन गर्न र औषधिको मूल्य निर्धारण प्रक्रिया के हो, सो प्रक्रिया पालना गरिएको हो वा होइन, तथा अनियमितता भएको भए त्यसमा कसको संलग्नता रहेको छ भन्ने विषयसमेत समेटेर विस्तृत प्रतिवेदन तयार गर्न भनिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त छानबिन प्रतिवेदन सात दिनभित्र पेश गर्न निर्देशन दिएको छ। उक्त विषयमा प्रश्न उठेपछि महानिर्देशक ढकाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएका छन्।