काठमाडौं- डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसन अफ नेपालले नेपाल स्वास्थ्य व्यवसायी परिषदमा तालाबन्दी गर्दै विरोध प्रदर्शन थालेको छ। परिषदभित्र लामो समयदेखि देखिएका कानुनी, संरचनागत तथा प्रतिनिधित्वसम्बन्धी समस्याको समाधान नभएको भन्दै एसोसिएसन आन्दोलनमा उत्रिएको हो।
अध्यक्षको कार्यकक्षमा तालबन्दी गर्दै वैशाखी उपहार समेत दिइएको छ। एसोसिएसनले जारी गरेको विज्ञप्तिअनुसार परिषद ऐन २०५३ लागू भएको वर्षौँ बितिसक्दा पनि ऐनको दफा ४(२) अनुसार परिषद पूर्ण रूपमा गठन हुन सकेको छैन। समयमै प्रतिनिधि नियुक्ति नहुनु, पेशागत संघ–संगठनहरूको समावेशी प्रतिनिधित्व नहुनु तथा परिषदका नियमित कार्यहरू अवरुद्ध हुनु गम्भीर समस्या बनेको उनीहरूको भनाइ छ।
'दन्त स्वास्थ्य क्षेत्रमा कार्यरत डेन्टल हाइजेनिस्ट, डेन्टल असिस्टेन्टलगायत दर्तावाल स्वास्थ्यकर्मीहरूको कार्यक्षेत्र स्पष्ट हुँदाहुँदै पनि उनीहरूको पेशागत अधिकारमाथि असर पर्ने गतिविधि भइरहेको छ,' अध्यक्ष माईकल देवकोटा हस्ताक्षरित पत्रमा भनिएको छ। केही पदाधिकारीले पदको दुरुपयोग गर्दै दर्तावाल स्वास्थ्यकर्मीमाथि मानसिक, सामाजिक तथा व्यावसायिक दबाब सिर्जना गर्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने जस्ता कार्य गरेको आरोप लगाइएको छ।
परिषदमा आवश्यक सदस्य संख्या नपुग्दा दर्ता, नवीकरण, सीपीडी, अनुशासनात्मक कारबाही तथा नियमनका काम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको पनि विज्ञप्तिमा उल्लेख छ। यसले स्वास्थ्य सेवा गुणस्तर र नागरिकको स्वास्थ्य अधिकारमै असर परेको एसोसिएसनको भनाइ छ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग भएका सहमति कार्यान्वयन नभएको, परिषदभित्र आर्थिक अनियमितता, नातावाद र कानुनविपरीत गतिविधि बढेको आरोप पनि लगाइएको छ।
एसोसिएसनका अध्यक्ष माईकल देवकोटाले परिषदमा राखिएका वैधानिक, संरचनागत र प्रतिनिधित्वसम्बन्धी मागहरू बारम्बार उठाउँदा पनि बेवास्ता गरिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताए।
आन्दोलनअन्तर्गत परिषद अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ। साथै, परिषदबाट जारी लाइसेन्सको प्रतिलिपि बुझाउने, माइतीघर मण्डलामा धर्ना दिने तथा परिषदमाथि छानबिन गर्नुपर्ने मागसहित थप संघर्षका कार्यक्रम घोषणा गरिएको छ।
एसोसिएसनले आफ्ना मागहरू तत्काल सम्बोधन नगरिए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।