काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले देशभरका विमानस्थलहरूको सेवा गुणस्तर सुधार गर्न निर्देशन जारी गरेको छ। मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण लाई २४ घण्टाभित्र आवश्यक सुधारका काम कार्यान्वयन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित विभिन्न विमानस्थलहरूमा यात्रु सेवा, सरसफाइ तथा पूर्वाधारसम्बन्धी गुनासा बढेपछि यस्तो कदम चालिएको हो।
जारी निर्देशनमा विमानस्थलहरूमा स्तनपान तथा शिशु हेरचाह कक्ष अनिवार्य रूपमा सञ्चालन वा स्तरोन्नति गर्नुपर्ने, बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त यात्रुका लागि प्राथमिक हेरचाह कक्ष व्यवस्था गर्नुपर्ने उल्लेख छ। त्यस्तै, महिला यात्रुका लागि प्रमुख शौचालयहरूमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
सरसफाइ र स्वच्छताका सन्दर्भमा दैनिक सरसफाइ लगबुक प्रणाली लागू गर्न, विश्व स्वास्थ्य संगठन (WHO) र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) ले तोकेका मापदण्ड कडाइका साथ पालना गर्न तथा नियमित निरीक्षण र अभिलेखीकरण सुनिश्चित गर्न निर्देशन दिइएको छ।
मन्त्रालयले सम्बन्धित विमानस्थलहरूलाई कार्यान्वयनको अवस्थासहित फोटो प्रमाण र लगबुक विवरण २४ घण्टाभित्र इमेलमार्फत पठाउन भनेको छ। निर्देशन पालना नगरे प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।
साथै, मन्त्रालयले यात्रु तथा सर्वसाधारणलाई विमानस्थलको सेवासम्बन्धी गुनासा वा सकारात्मक प्रतिक्रिया आफ्नो सूचना अधिकारीको ह्वाट्सएप नम्बरमा पठाउन आह्वान गरेको छ।
