काठमाडौं- सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेसँगै स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्ने तयारी अघि बढाए पनि चिकित्सकहरूको छाता संगठन नेपाल मेडिकल एशोसिएसन (एनएमए) ले तत्काल आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पारेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई सेवा प्रवाहमा अवरोध नआउने गरी आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्न आग्रह गरेको छ। तर, एनएमएले जारी गरेको प्रेस विज्ञप्तिमा हालको जनशक्ति अवस्थाले यस्तो व्यवस्था कार्यान्वयन गर्न नसकिने जनाएको हो।
एनएमएका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीहरू ९ देखि ५ बजेसम्मको नियमित ड्युटीबाहेक अनकल, वार्ड राउन्ड, आकस्मिक सेवा लगायत २४ घण्टा सेवा दिइरहेका छन्। यस्तो अवस्थामा अतिरिक्त कार्यभार थपिँदा सेवाको गुणस्तरमा असर पर्ने जोखिम रहेको संघको ठहर छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा प्रकाशित नयाँ बिदा व्यवस्थाले स्वास्थ्य सेवा प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मन्त्रालयले अस्पतालहरूलाई कार्यभार र उपलब्ध जनशक्ति अनुसार आइतबार पनि ओपीडी सञ्चालन गर्न आग्रह गरेको थियो। साथै, कर्मचारी व्यवस्थापनका लागि शनिबार बाहेक अर्को एक दिन बिदा दिने वा सो सम्भव नभए सट्टा बिदा उपलब्ध गराउन भनिएको छ।
तर, एनएमएले विगतमा कानुनी जटिलताका कारण सट्टा बिदा कार्यान्वयन हुन नसकेको उदाहरण दिँदै यो व्यवस्था व्यवहारिक नहुने बताएको छ। साथै, विभिन्न अस्पतालमा फरक–फरक दिन बिदा हुँदा सेवाग्राहीहरू अन्योलमा पर्ने र स्वास्थ्य सेवा प्रवाहमा थप जटिलता आउने चेतावनी दिएको छ।
इन्धन अभावलाई कारण देखाउँदै दुई दिन बिदा दिने निर्णय गरिए पनि स्वास्थ्य संस्थामा ओपीडी समय थप्दा इन्धनको थप खपत हुने भन्दै एनएमएले यसलाई अव्यवहारिक भनेको छ।
संघले स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति व्यवस्थापन नगरी यस्तो निर्णय कार्यान्वयन गर्न खोजिए सेवा प्रणाली नै प्रभावित हुने चेतावनी दिएको छ। मन्त्रालयले आफ्नो निर्णय पुनर्विचार गर्नुपर्ने माग गर्दै एनएमएले अन्यथा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ।
