काठमाडौँ-स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १२ औँ शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने सम्मेलनको शुक्रबार रामसहायप्रसाद यादवले उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा उपराष्ट्रपति यादवले नयाँ–नयाँ रोगहरूको जोखिम बढ्दै गएको वर्तमान अवस्थामा स्वास्थ्य अनुसन्धानको महत्व अझ बढेको बताए। उनले संक्रामक रोग, नसर्ने रोग, आहार–विहार, व्यवहार तथा मानव स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा निरन्तर अनुसन्धान आवश्यक रहेको उल्लेख गरे।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष नारायणविक्रम थापाले स्वास्थ्य अनुसन्धानका नयाँ उपलब्धीहरूको आदानप्रदान गर्दै स्वास्थ्य क्षेत्रका लागि नयाँ रणनीतिक मार्गचित्र तयार पार्न सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गरे।
सम्मेलनमा नसर्ने रोग, प्रजनन स्वास्थ्य, मातृ, नवजात तथा बाल स्वास्थ्य, परिवार नियोजन, मानसिक स्वास्थ्य, स्वास्थ्य सुशासन, स्वास्थ्य वित्त तथा जनशक्ति, संक्रामक रोग, महामारी तयारी तथा विपद् व्यवस्थापन, चिकित्सकीय विज्ञान, आयुर्वेद तथा परम्परागत चिकित्सा, वातावरणीय तथा पेशागत स्वास्थ्य, जलवायु परिवर्तन, स्वास्थ्य सेवा पहुँचमा असमानता, स्वास्थ्यका सामाजिक निर्धारक, स्वास्थ्य शिक्षा तथा प्रवर्द्धन, पोषण तथा खाद्य सुरक्षा, बसाइँसराइ र स्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य तथा औषधिमा पहुँचलगायत विषयमा अन्तरक्रिया तथा अनुभव आदानप्रदान गरिँदै छ।
‘नेपालमा स्वास्थ्य अनुसन्धान सुशासनका लागि प्रमाणमा आधारित निर्णय तथा कार्यान्वयन प्रक्रिया’ भन्ने मूल नारासहित आयोजित सम्मेलनले राष्ट्रिय तथा विश्वव्यापी स्वास्थ्य चुनौतीहरूको समाधानका लागि अनुसन्धान, नीति र अभ्यासबीचको सम्बन्ध सुदृढ पार्ने लक्ष्य राखेको छ। परिषद्का कार्यकारी प्रमुख तथा सदस्यसचिव डा. प्रमोद जोशीले सम्मेलनले स्वास्थ्य अनुसन्धानलाई नीति निर्माणसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
सम्मेलनमा नीति निर्माता, अनुसन्धानकर्ता, विश्वविद्यालय तथा विकास साझेदारहरू एउटै मञ्चमा भेला भएका छन्। साथै स्वास्थ्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे पनि ज्ञान आदानप्रदान भइरहेको छ।
सम्मेलनमा नेपालका स्वास्थ्य तथा विज्ञान क्षेत्रका एक हजार दुई सयभन्दा बढी विज्ञ तथा दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहेको छ। बेलायत, अमेरिका, भारत, फिलिपिन्स, अस्ट्रेलिया, कोरिया तथा युरोपका प्रतिनिधिहरू सम्मेलनमा सहभागी छन्।
सम्मेलनमा कुल ४६५ वटा प्रस्तुति हुने छन्, जसमध्ये ९१ वटा मौखिक तथा १२० वटा पोस्टर प्रस्तुतीकरण समावेश गरिएको आयोजकले जनाएको छ।