काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिको मूल्य वृद्धि सम्बन्धी विवाद छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रालयको कर्मचारी प्रशासन शाखाबाट जारी पत्रअनुसार औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले प्रचलित कानूनी प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको भन्ने उजुरी परेपछि छानबिन प्रक्रिया अघि बढाइएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनअनुसार गठित समितिले औषधिको मूल्य निर्धारण प्रक्रिया, त्यसको पालना भएको वा नभएको, र सम्भावित अनियमितता तथा संलग्न व्यक्तिहरूको पहिचान गर्ने जिम्मेवारी पाएको छ। समितिलाई सम्पूर्ण विषयमा अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित समितिमा कानून शाखाका प्रमुख गोपीकृष्ण रेग्मी र विषय विज्ञ कविन मलेकु सदस्य रहेका छन्। समितिले आवश्यक परे अन्य विज्ञ तथा कर्मचारीलाई समेत आमन्त्रण गर्न सक्ने बताइएको छ।
सरकारले मन्त्रीस्तरको निर्णयमार्फत गठन गरेको यो समिति औषधि मूल्य निर्धारण प्रक्रियामा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने उद्देश्यका साथ अघि बढाइएको मन्त्रालयले जनाएको छ।