काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डसँग जोडिएको विवादबारे दुई उच्च अधिकारीसँग स्पष्टीकरण मागेको छ।
मन्त्रालयले बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेल र स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख भीमप्रसाद सापकोटालाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।
स्वास्थ्य बीमा बोर्डका सदस्य नियुक्ति, बैठकमा उपस्थितिसम्बन्धी अभिलेख तथा निर्णय प्रक्रियासँग जोडिएका विषयमा सञ्चारमाध्यममा आएका विवरणप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरुसँग स्पष्टीकरण मागेको हो।
ती विषयमा वास्तविकता स्पष्ट पार्न दुवै अधिकारीसँग स्पष्टीकरण मागिएको मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ।
कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत दिपेन्द्र दहालले हस्ताक्षर गरेको पत्रमा सम्बन्धित निर्णयमा उनीहरूको संलग्नता रहे–नरहेको, यदि रहेको भए त्यसको कारण र प्रक्रिया के थियो भन्नेबारे स्पष्ट विवरण पेश गर्न भनिएको छ।
हालै सार्वजनिक भएका विवरणमा बोर्डका कागजात मिलाउने तथा निर्णयसँग सम्बन्धित माइन्युट व्यवस्थापनमा कर्मचारी तहबाटै अनियमितता भएको आशंका गरिएको छ।
बीमा बोर्ड सदस्य जुनु श्रेष्ठको सदस्यता निष्क्रिय भइसकेको अवस्थामा उनलाई पुनः बैठकमा सहभागी गराइएको विषय बाहिर आएको थियो। श्रेष्ठ पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहकी पत्नी हुन्। पदीय मर्यादाको दुरुपयोग गरी श्रेष्ठलाई पुन बोर्ड सदस्यमा सक्रिय राखिएको आरोपपछि राजनीतिक दबाब बढेको थियो।
प्रधानमन्त्री बालेन्द्र शाहले सो विषय बाहिर आएपछि मन्त्री शाहलाई पदमुक्त गरेका छन् भने स्वास्थ्य मन्त्री निशा मेहतालाई सचेत समेत गराइसकेका छन्।

