काठमाडौं – सरकारी अस्पतालहरूको सेवालाई जनमैत्री, पहुँचयोग्य र चुस्त बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले 'अस्पताल सेवा सुधार कार्यविधि, २०८२' जारी गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारका कार्यसूचीहरूलाई कार्यान्वयन गर्न ल्याइएको यस कार्यविधिले अस्पतालको भौतिक अवस्थादेखि कर्मचारीको व्यवहारसम्म सुधार गर्ने लक्ष्य राखेको छ।
कार्यविधिले कर्मचारीको आचरण र व्यवहारमा विशेष जोड दिएको छ। सेवाग्राहीसँग नम्र र मर्यादित व्यवहार सुनिश्चित गर्नुपर्ने र 'म तपाईलाई के सहयोग गर्न सक्छु' भन्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख छ। यदि कुनै कर्मचारीले सेवाग्राहीसँग रुखो व्यवहार गरेको पाइएमा, अस्पताल प्रशासनले त्यस्ता कर्मचारीलाई कार्यसमयपछि अनिवार्य रूपमा एक घण्टाको 'सफ्ट स्किल सेसन' मा सहभागी गराउनुपर्ने व्यवस्था गरिएको छ।
अस्पतालमा लाग्ने भीड कम गर्न र सेवाग्राहीको समय बचत गर्न डिजिटल प्रणालीलाई अनिवार्य गर्न भनिएको छ। कार्यविधि अनुसार अस्पतालहरूले अनिवार्य रूपमा अनलाइन बुकिङ र रिपोर्ट डिस्प्याच प्रणाली लागू गर्नुपर्नेछ।
भुक्तानी प्रक्रियालाई सहज बनाउन अनलाइन पेमेन्ट र क्यूआर कोड मार्फत भुक्तानी हुने व्यवस्था मिलाउनुपर्ने, इन्टरनेट ढिलो भएर सेवामा बाधा पुग्ने अवस्था अन्त्य गर्न सेवा बिन्दुहरूमा उच्च गतिको इन्टरनेट सुनिश्चित गर्नुपर्ने, बिरामीको उपचार रेकर्ड व्यवस्थित गर्न एकीकृत इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली विकास गरी लागू गर्नुपर्ने विषय पनि कार्यविधिमा उल्लेख छ।
ओपिडी सेवा कार्यालय समयको पूरा अवधि सञ्चालन हुनुपर्ने, ओपिडी कक्षबाहिर खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरूको नाम सबैले देख्ने गरी डिस्प्ले गर्नुपर्ने, अस्पतालमा गरिने प्रयोगशाला र रेडियो ईमेजिङ्ग परीक्षणका प्रतिवेदनहरू २४ घण्टाभित्र उपलब्ध गराउनुपर्ने विषय पनि कार्यविधिमा उल्लेख छ।
कार्यविधि अनुसार टिकट र क्यास काउन्टरमा असहाय, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, गर्भवती र आकस्मिक बिरामीलाई प्राथमिकता दिनुपर्नेछ।
कार्यविधिले आकस्मिक स्वास्थ्य सेवाका बिरामीलाई विशेष संरक्षण दिएको छ। यदि बिरामीले तत्काल उपचार खर्च बुझाउन नसक्ने भए तापनि सेवा उपलब्ध गराउनु अस्पतालको अनिवार्य दायित्व हुनेछ। यस्तै, प्रत्येक सरकारी अस्पतालले आफ्नै 'सुलभ फार्मेसी' सञ्चालन गर्नुपर्ने र चिकित्सकले औषधि लेख्दा अस्पतालको फार्मेसीमा उपलब्ध औषधिको सूची हेरेर मात्र लेख्नुपर्ने व्यवस्था गरिएको छ।
बिरामीलाई अस्पतालभित्र विभागहरू खोज्न सहज होस् भन्नका लागि नेपाली भाषामा स्पष्ट बुझिने सङ्केत र सम्भव भएसम्म रङ्गीन चिन्ह सहितको नेभिगेसन प्रणाली बनाउनुपर्नेछ। अस्पतालको सरसफाइका लागि दैनिक कार्यतालिका बनाई चेकलिस्ट अनुसार कार्यान्वयन गर्नुपर्ने र बिग्रेका उपकरणहरू तत्काल मर्मत वा लिलाम गर्नुपर्ने निर्देश गरिएको छ।
हेरौं कार्यविधि