काठमाडौं- आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुँदै आएका दुर्गम क्षेत्रका बिरामीलाई लक्षित गर्दै काठमाडौं मेडिकल कलेज (केएमसी), दुवाकोटले निःशुल्क तथा सहुलियत उपचार सेवा सुरु गर्ने भएको छ।
पूर्व प्रतिनिधिसभा सदस्य डा. सुनिल कुमार शर्माको पहलमा सुरु हुन लागेको उक्त कार्यक्रममा देशका विभिन्न दुर्गम तथा पिछडिएका जिल्लाका विपन्न बिरामीलाई प्राथमिकतामा राखिने जनाइएको छ। अस्पतालले आर्थिक अवस्था मूल्याङ्कनका आधारमा पूर्ण वा आंशिक छुटमा उपचार उपलब्ध गराउनेछ।
कार्यक्रमअन्तर्गत कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालीकोटसहित रोल्पा, रुकुम, सल्यान जस्ता जिल्लाका बिरामी लाभान्वित हुनेछन्। यस्तै कोशी प्रदेशका सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र ताप्लेजुङका विपन्न बिरामीलाई पनि सेवा दिने योजना रहेको छ।
त्यसैगरी दोलखा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र गोरखाका आर्थिक रूपमा कमजोर बिरामीहरूले समेत उक्त सुविधा लिन सक्नेछन्।
सेवा लिन इच्छुक बिरामीले सम्बन्धित स्थानीय तहबाट सिफारिससहित आवश्यक कागजात पेश गरी अस्पतालमा सम्पर्क गर्नुपर्नेछ। अस्पतालले त्यस्ता बिरामीको आर्थिक अवस्था अध्ययन गरी उपचारमा छुट निर्धारण गर्नेछ।
डा. शर्माले यो कार्यक्रम पहिलो चरणका रूपमा सुरु गरिएको उल्लेख गर्दै आगामी दिनमा थप जिल्लामा विस्तार गर्ने योजना रहेको बताए। उनका अनुसार आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले यस्तो पहल गरिएको हो।
उपचार सेवाबारे थप जानकारीका लागि ९८०२३३५११२ वा ९८०२३३५१०८ नम्बरमा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ।