काठमाडौं – सरकारी अस्पतालको फार्मेसी सेवालाई व्यवस्थित र बिरामीमैत्री बनाउन सरकारले नयाँ नियम ल्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको 'अस्पताल सेवा सुधार कार्यविधि, २०८२' अनुसार अब सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूले प्रेस्किप्सन लेख्दा अस्पतालकै फार्मेसीमा उपलब्ध औषधिको सूचीलाई अनिवार्य आधार बनाउनुपर्नेछ।
कार्यविधिले सरकारी अस्पतालका चिकित्सकहरूलाई अस्पतालकै फार्मेसीमा उपलब्ध औषधिको सूचीका आधारमा मात्र प्रेस्किप्सन लेख्न अनिवार्य गरेको हो। कार्यविधि अनुसार अब प्रत्येक चिकित्सकले आफ्नो कार्यकक्षको टेबलमा अस्पताल फार्मेसीमा मौज्दात रहेका औषधिहरूको अद्यावधिक सूची राख्नुपर्नेछ। बिरामीलाई औषधि सिफारिस गर्दा सोही सूची हेरेर अस्पतालमा उपलब्ध भएसम्मका औषधि मात्र लेख्नुपर्ने व्यवस्था गरिएको छ।
औषधि व्यवस्थापनमा नयाँ नियम
टेबलमा औषधिको सूची अनिवार्य: चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा अनिवार्य रूपमा अस्पतालको फार्मेसीमा पाइने औषधिको सूची आफ्नो टेबलमा राख्नुपर्नेछ।
सूची अनुसारको प्रेस्किप्सन: डाक्टरले सोही सूचीमा रहेका औषधिहरू मात्र प्रेस्किप्सनमा लेख्नुपर्ने व्यवस्था गरिएको छ।
सुलभ फार्मेसी सञ्चालन: प्रत्येक सरकारी अस्पतालले आफ्नै 'सुलभ फार्मेसी' सञ्चालन गरी गुणस्तरीय औषधि उपलब्ध गराउनु पर्नेछ।
अटुट उपलब्धता: अस्पतालमा दैनिक रूपमा आवश्यक पर्ने औषधिहरू नियमित र अटुट रूपमा उपलब्ध गराउनु अस्पतालको अनिवार्य दायित्व हुनेछ।
डिजिटल रेकर्ड: फार्मेसीमा औषधिको मौज्दात, प्रकार र मूल्य देखिने गरी डिजिटल रेकर्ड अध्यावधिक गर्नुपर्नेछ।
औषधि बजार प्रवर्द्धकलाई निषेध
अस्पतालको सेवा प्रवाहमा अवरोध पुग्न नदिन मन्त्रालयले औषधि बिक्रि प्रवर्द्धकहरूलाई कार्यालय समयमा कडाइ गरेको छ। कार्यविधि अनुसार कार्यालय समय भित्र र बिरामीहरूलाई सेवा प्रदान गर्ने समयमा औषधि बिक्रि प्रवर्द्धकहरूलाई अस्पताल प्रवेशमा निषेध गरिएको छ ।
सरकारी अस्पतालमा आकस्मिक सेवाका लागि आएका बिरामीलाई आवश्यक पर्ने औषधि र सेवा उपलब्ध नभएमा, अस्पतालले उपलब्ध भएसम्मको सेवा दिएर मात्र अन्यत्र पठाउनुपर्नेछ। यसरी बिरामी प्रेषण गर्दा पायक पर्ने सरकारी अस्पतालमा फोनमार्फत समन्वय गरी 'रेफरल स्लिप' सहित पठाउनुपर्ने अनिवार्य व्यवस्था कार्यविधिले गरेको छ।
