काठमाडौं – सरकारले स्वास्थ्य क्षेत्रमा दुई दिने सार्वजनिक बिदा कटौती गरी साताको छ दिन नै सेवा सञ्चालन गर्ने निर्णय गरेपछि नेपाल आयुर्वेद चिकित्सक संघले त्यसप्रति कडा आपत्ति जनाएको छ। संघले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीहरूको मनोबल गिराउने गरी आएको यस्तो निर्णयले सेवाको गुणस्तरमा समेत नकारात्मक प्रभाव पार्ने जनाएको छ।
सीमित जनशक्ति र न्यूनतम सेवा–सुविधाका बाबजुद अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरूलाई इच्छा विपरीत थप कार्यबोझ थपाउँदा उनीहरूमा मानसिक र शारीरिक थकान बढ्ने संघको ठहर छ। संघका अध्यक्ष डा. शंकर गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'अन्यायपूर्ण ढङ्गले गरिएको बिदा कटौतीको निर्णयले स्वास्थ्यकर्मीको मनोबल कमजोर बनाउने र अन्ततः सेवाग्राहीहरू नै मर्कामा पर्न सक्ने जोखिम प्रति हामी सरकारको ध्यानाकर्षण गराउँदछौं।'
संघले स्वास्थ्य क्षेत्रलाई संवेदनशील र विशिष्ट सेवा मान्दै सोही अनुरूपको सेवा–सुविधा उपलब्ध गराउन समेत माग गरेको छ। नागरिकको स्वास्थ्यको मौलिक हक सुनिश्चित गर्न २४सै घण्टा सेवा आवश्यक रहेको स्वीकार गर्दै संघले त्यसका लागि बिदा कटौती गर्नुको सट्टा जनसंख्या र आवश्यकताका आधारमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको दरबन्दी थप गर्न सरकारलाई सुझाव दिएको छ।
विज्ञप्ति मार्फत संघले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रमा लगानी वृद्धि गर्न, नसर्ने रोग र मानसिक समस्या न्यूनीकरणका लागि 'मेरो स्वास्थ्य मेरो जिम्मेवारी' अभियानलाई प्रभावकारी बनाउन र आरोग्य पर्यटन मार्फत आर्थिक समृद्धि हासिल गर्ने बाटो अपनाउन समेत जोडदार माग गरेको छ। सरकारले स्वास्थ्यकर्मीका मागलाई सम्बोधन नगरे थप दबाबका कार्यक्रमहरू ल्याउन सक्ने संकेत समेत संघले दिएको छ।
हरौं विज्ञप्तिको पूर्णपाठ
प्रेस विज्ञप्ति
नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा दुई दिने सार्वजनिक बिदा कटौती गरी साताको ६ दिन नै सेवा सञ्चालन गर्ने भनी गरेको निर्णयप्रति नेपाल आयुर्वेद चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ। सीमित जनशक्ति, न्यूनतम सेवा-सुविधा र स्रोत साधनका बाबजुद अहोरात्र सेवामा समर्पित स्वास्थ्यकर्मीहरूलाई थप कार्यबोझ थपाउने यो निर्णय अन्यायपूर्ण र अव्यावहारिक रहेको हाम्रो ठहर छ।
स्वास्थ्य सेवा एक संवेदनशील र विशिष्ट क्षेत्र हो। स्वास्थ्यकर्मीहरूलाई इच्छा विपरीत थप कार्यमा खटाउँदा उनीहरूको मनोबल कमजोर हुने, मानसिक र शारीरिक थकान बढ्ने र यसले अन्ततः सेवाको गुणस्तरमा नै नकारात्मक प्रभाव पार्ने निश्चित छ। नागरिकको मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बिदा कटौती गरेर स्वास्थ्यकर्मीलाई थकाउनुको सट्टा जनसंख्या र आवश्यकताका आधारमा नयाँ दरबन्दी सिर्जना गरी २४सै घण्टा सेवा सुनिश्चित गर्नु राज्यको दायित्व हो।
अतः नेपाल आयुर्वेद चिकित्सक संघ नेपाल सरकार समक्ष निम्न मागहरू जोडदार रूपमा राख्दछ:
१. समायोजनको बेलामा अन्याय गरिएको स्वास्थ्य क्षेत्रलाई पुनः दुई दिने बिदाको विषयमा गरिएको अन्याय खारेज गरी समुचित निर्णय मार्फत हालको अन्योल व्यवस्थापन गरियोस्।
२. चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको सेवालाई विशिष्ट सेवा मानी सेवा सुविधा समेत सोही अनुपातमा उपलब्ध गराउने व्यवस्था गरियोस्।
३. आवश्यकता, विशेषज्ञता र जनसंख्या अनुपातका आधारमा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको दरबन्दी व्यवस्थापन गरी सबै नागरिकले २४x७ सेवा प्राप्त गर्ने व्यवस्था मिलाइयोस्।
४. बढ्दो नसर्ने रोग, मानसिक समस्या न्यूनीकरण तथा आरोग्यता वृद्धि, आरोग्य पर्यटन मार्फत आर्थिक समृद्धि, 'मेरो स्वास्थ्य मेरो जिम्मेवारी' मार्फत स्वस्थ समाज एवं समुन्नत नेपाल निर्माणका लागि आयुर्वेद एवं वैकल्पिक चिकित्सा क्षेत्रमा लगानी वृद्धि गरी थोरै लगानीमा धेरै प्रतिफल प्राप्त गर्ने बाटो अपनाइयोस्।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने जनशक्तिको भावना विपरीत गरिएको यो निर्णयमाथि पुनर्विचार नगरिएमा संघ कडा कदम चाल्न बाध्य हुनेछ।
डा. शंकर गौतम
अध्यक्ष
नेपाल आयुर्वेद चिकित्सक संघ