विराटनगर- मोरङको बुढीगंगा गाउँपालिका–२ मा करिब १ अर्ब रुपैयाँको लगानीमा ‘एलेक्सा लाइफसाइन्सेज’ नामक सलाइन उत्पादन उद्योग सञ्चालनमा आएको छ। अन्तर्राष्ट्रिय मापदण्डको यस उद्योगको औपचारिक उद्घाटन शुक्रबार वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले एक विशेष समारोहबीच गरेका हुन्।
स्वदेशमै सलाइन उत्पादन गरी स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्ने उद्देश्यले स्थापित यो उद्योगले केही समयअघिदेखि नै आफ्ना उत्पादन बजारमा ल्याउन थालिसकेको छ। उद्योगीद्वय दिनेश ठाकुर र रञ्जित भगतले पाँच वर्षको निरन्तर अध्ययन र योजनापछि यो उद्योग सञ्चालनमा ल्याएका हुन्। जर्मन प्रविधियुक्त अत्याधुनिक मेसिन प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार औषधि उत्पादन सुरु गरिएको सञ्चालकहरूले दाबी गरेका छन्।
उद्घाटन समारोहमा बोल्दै डा. भगवान कोइरालाले स्वदेशमै औषधि उत्पादन हुनु राष्ट्रका लागि गौरवको विषय भएको बताए। उनले भने, “स्वदेशमै औषधि उत्पादन हुनु सकारात्मक कदम हो। गुणस्तरमा कुनै सम्झौता नगरी यसलाई निरन्तरता दिन सके देशलाई ठूलो योगदान पुग्नेछ।”
उद्योगले हाल पहिलो चरणमा ‘लार्ज भोल्युम प्यारेन्टरल्स’ अन्तर्गत १०० एमएलदेखि ३ हजार एमएलसम्मका सलाइन उत्पादन गरिरहेको छ। दोस्रो चरणमा १ देखि २० एमएलसम्मका ‘स्मल भोल्युम प्यारेन्टरल्स’ तथा तेस्रो चरणमा आँखा र कानमा हाल्ने औषधिहरू उत्पादन गर्ने योजना रहेको निर्देशक दिनेश ठाकुरले जानकारी दिए।

“हाम्रो मुख्य उद्देश्य सहज मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउनु र औषधिको परनिर्भरता घटाउनु हो,” ठाकुरले भने, “तर सलाइन उत्पादनको लागत बढी हुने र बजार मूल्य समायोजन नहुँदा हाल हामीले घाटा सहेरै उत्पादन गरिरहेका छौँ।” उनले सरकारले नीतिगत सुधार र आवश्यक सहुलियत नदिए स्वदेशी उद्योगहरू धराशायी हुनसक्ने तर्फ ध्यानाकर्षण गराए।
यस उद्योगले हाल १५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ। दक्ष जनशक्ति र अत्याधुनिक व्यवस्थापन प्रणाली अपनाएको यस उद्योगले दीर्घकालमा विदेशमा समेत औषधि निर्यात गर्ने योजना बनाएको छ। सलाइन उत्पादनमा पूर्ण रूपमा स्वदेशी लगानीमा आधारित यो नेपालकै अग्रणी कम्पनी हुने दाबी गरिएको छ।
नेपालमा औषधि बजारको ठूलो हिस्सा विदेशी कम्पनीहरूको कब्जामा रहेका बेला एलेक्सा लाइफसाइन्सेजको सञ्चालनले औद्योगिक र स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाएको सरोकारवालाहरूले बताएका छन्। यसले आयातमा निर्भरता घटाउनुका साथै मुलुकको आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ।