काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले देशभरका सरकारी अस्पतालहरूमा छिट्टै डिजिटल प्रणालीमार्फत स्वास्थ्य परीक्षण रिपोर्ट उपलब्ध गराउने व्यवस्था गरिने बताएकी छन्।
आइतबार काठमाडौंस्थित वीर अस्पतालको अनुगमनका क्रममा मन्त्री मेहताले बिरामी तथा उनीहरूका आफन्तसँग प्रत्यक्ष गुनासो सुन्दै यस्तो जानकारी दिएकी हुन्। अस्पतालमा उपचारका लागि आएका सेवाग्राहीहरूले रिपोर्ट प्राप्त गर्न ढिलाइ हुँदा अनावश्यक झन्झट व्यहोर्नुपरेको गुनासो गरेका थिए।
यसै सन्दर्भमा मन्त्री मेहताले अब स्वास्थ्य परीक्षणपछि रिपोर्ट लिन अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य गर्ने गरी डिजिटल प्रणाली लागू गर्न लागिएको स्पष्ट पारिन्। “बिरामी आफैले घरमै बसेर रिपोर्ट हेर्न सक्ने व्यवस्था छिट्टै हुन्छ,” उनले भनिन्।
अस्पताल प्रशासनले भने दैनिक करिब ५ हजार बिरामीले बहिरंग सेवा (ओपीडी) लिने भएकाले रिपोर्ट तयार गर्न समय लाग्ने गरेको जनाएको छ।
अनुगमनका क्रममा मन्त्री मेहताले अस्पतालमै पर्याप्त औषधि उपलब्ध गराउने व्यवस्था मिलाउन पनि प्रशासनलाई निर्देशन दिइन्।
अनुगमनपछि संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री मेहताले समग्र स्वास्थ्य क्षेत्र सुधारका थप योजनाहरू केही दिनभित्र सार्वजनिक गरिने जानकारी दिइन्।