काठमाडौं- स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १२औं राष्ट्रिय शिखर सम्मेलन पाँच बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ। तीन दिनसम्म चलेको सम्मेलनले स्वास्थ्य अनुसन्धान, सुशासन र दिगो विकास लक्ष्यप्रति पुनः प्रतिबद्धता व्यक्त गरेको छ।
सम्मेलनको उद्घाटन शुक्रबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका थिए। उद्घाटन समारोहमा उनले पछिल्लो समय नयाँ–नयाँ रोगहरूको जोखिम बढ्दै गएकाले स्वास्थ्य अनुसन्धानको आवश्यकता झनै महत्वपूर्ण बनेको उल्लेख गरे। संक्रामक तथा नसर्ने रोग, आहार–विहार, व्यवहार र मानव स्वास्थ्यसँग सम्बन्धित विविध क्षेत्रमा निरन्तर अध्ययन आवश्यक रहेको उनले बताए।
यस वर्ष सम्मेलनका लागि प्राप्त ४६५ ‘एब्स्ट्र्याक्ट’मध्ये ९१ मौखिक र १२० पोस्टर प्रस्तुति छनोट गरिएको थियो। तीन दिने कार्यक्रमअन्तर्गत एक प्लेनरी सेसन, ३५ आमन्त्रित प्रस्तुति, १२ समानान्तर सत्र तथा पाँच प्यानल छलफल आयोजना गरिएको थियो।
सम्मेलनले स्वास्थ्य अनुसन्धान सुशासनलाई प्रमाणमा आधारित नीति निर्माण र प्रभावकारी कार्यान्वयनको आधारका रूपमा स्थापित गर्दै पाँच मुख्य बुँदामा सहमति जनाएको छ।
घोषणापत्रमा नेपालमा पारदर्शी र जवाफदेही स्वास्थ्य अनुसन्धान प्रणाली सुदृढ गर्दै संस्थागत गर्ने, नसर्ने रोगहरूको रोकथामका लागि ‘समग्र सरकार’ र ‘समग्र समाज’ दृष्टिकोण अपनाउने तथा त्यसमा लगानी बढाउने विषयलाई प्राथमिकता दिइएको छ।
त्यस्तै, कृत्रिम बौद्धिकता, ठूला डेटा र डिजिटल स्वास्थ्य प्रविधिको नैतिक प्रयोग सुनिश्चित गर्दै सुरक्षित र केन्द्रीयकृत राष्ट्रिय स्वास्थ्य डेटा भण्डार विकास गर्ने उल्लेख गरिएको छ। साथै स्वास्थ्य अनुसन्धानमा सामाजिक न्याय, ‘वन हेल्थ’ र जलवायु–अनुकूल दृष्टिकोण प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
घोषणापत्रले प्रमाणमा आधारित नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि दिगो वित्तीय व्यवस्थापन सुनिश्चित गर्न तथा शैक्षिक संस्था र उद्योगबीच सहकार्य सुदृढ गर्न पनि जोड दिएको छ।
सम्मेलनले समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि अनुसन्धान–आधारित निर्णय प्रक्रिया मजबुत बनाउनु अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।
काठमाडौंमा सम्पन्न नेपालका स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको बाह्रौं राष्ट्रिय शिखर सम्मेलनले स्वास्थ्य अनुसन्धान सुशासनलाई प्रमाणमा आधारित निर्णय तथा प्रभावकारी कार्यान्वयनको आधारको रूपमा अत्यन्त महत्वपूर्ण ठहर गर्दै, दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्धता पुनः पुष्टि गर्दै निम्न बुँदाहरू घोषणा गरेको छः
१. नेपालमा स्वास्थ्य अनुसन्धानको प्रभावकारी व्यवस्थापनको लागि पारदर्शी र जवाफदेही विस्तृत स्वास्थ्य अनुसन्धान सुशासन प्रणालीलाई सुदृढीकरण र संस्थागत गर्ने।
२. नसर्ने रोगहरूको प्राथमिक रोकथाम र प्रारम्भिक जोखिम न्यूनीकरणका लागि ‘समग्र सरकार’ तथा ‘समग्र समाज’ दृष्टिकोण अपनाउँदै प्राथमिकताका साथ लगानी अभिवृद्धि गर्न पैरवी गर्ने।
३. अनुसन्धानका नियामक ढाँचामा आधारित रहँदै कृत्रिम बौद्धिकता, ठुला डेटा र डिजिटल स्वास्थ्य प्रविधिको नैतिक प्रयोग सुनिश्चित गर्दै केन्द्रीयकृत र सुरक्षित राष्ट्रिय स्वास्थ्य डेटा भण्डारको विकास तथा दिगोपन कायम गर्ने।
४. स्वास्थ्य अनुसन्धान, सुशासन प्रणाली तथा यसको कार्यान्वयनमा सामाजिक न्याय, वन हेल्थ र जलवायु-अनुकूल दृष्टिकोण प्रवर्द्धन गर्ने।
५. प्रमाणमा आधारित नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न दिगो वित्तीय व्यवस्थापनका लागि पैरवी गर्ने र शैक्षिक संस्था तथा उद्योगबीच सहकार्य सुदृढ गर्ने।