काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा निरन्तर र गुणस्तरीय रूपमा सञ्चालन गर्न आवश्यक कार्यविधि छिट्टै तयार गरी कार्यान्वयनमा ल्याइने जनाएको छ। मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा स्वास्थ्य सेवा जस्तो संवेदनशील तथा अत्यावश्यक क्षेत्र कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै सरोकारवालालाई समन्वय र सहकार्य गर्न आग्रह गरेको हो।
मन्त्रिपरिषद्को २२ चैतको निर्णयअनुसार हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएपछि बिरामीहरूलाई सेवा प्रवाहमा असहजता नहोस् भन्ने उद्देश्यले मन्त्रालयले २७ चैतमा आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न अनुरोध गरेको थियो। उक्त अनुरोधलाई सकारात्मक रूपमा लिँदै अधिकांश अस्पतालहरूले ओपीडी सेवा सञ्चालन गरेकोमा मन्त्रालयले आभार व्यक्त गरेको छ।
विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालहरूले उठाएका चासोप्रति मन्त्रालय पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै ती विषयहरूलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको जनाइएको छ। साथै, सेवा प्रवाहलाई व्यवस्थित, सन्तुलित र दिगो बनाउने उद्देश्यले आवश्यक कार्यविधि तयार गर्ने काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।
कार्यविधि तयार नभएसम्म अस्पतालहरूले उपलब्ध जनशक्ति र कार्यभारको आधारमा सेवा प्रवाहलाई व्यवस्थित गर्नुपर्ने मन्त्रालयको आग्रह छ। मन्त्रालयका अनुसार स्वास्थ्यकर्मीको विश्रामको अधिकार सुरक्षित गर्दै अस्पताल सेवा निरन्तर राख्ने सन्तुलित व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको छ।
स्वास्थ्यकर्मीहरूको हकहित र नागरिकको उपचार अधिकारबीच सन्तुलन कायम गर्ने नीति चरणबद्ध रूपमा लागू गरिने पनि मन्त्रालयले स्पष्ट पारेको छ। अन्त्यमा, मन्त्रालयले सबै सरोकारवालाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत निरन्तर सहकार्यको अपेक्षा गरेको छ।
