काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले
प्रधानमन्त्री बालेन शाह सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। आइतबार सार्वजनिक गरिएको विवरणअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको नाममा सुन, नगद तथा पारिवारिक सम्पत्तिसम्बन्धी विवरण समावेश गरिएको छ।
सार्वजनिक विवरणअनुसार मन्त्री मेहताको नाममा करिब ३० तोला सुन रहेको उल्लेख गरिएको छ। त्यस्तै उनको व्यक्तिगत बैंक खातामा करिब ८लाख २३ हजार रुपैयाँ नगद मौज्दात रहेको देखिएको छ।
सम्पत्ति विवरणमा मन्त्री मेहताका श्रीमान्को नाममा सवारी साधन (गाडी) रहेको उल्लेख गरिएको छ। साथै पारिवारिक तथा पैतृक सम्पत्तिअन्तर्गत जग्गा–जमिन समेत रहेको विवरण सार्वजनिक गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्री तथा उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति विवरण पारदर्शिता कायम राख्ने उद्देश्यले नियमित रूपमा सार्वजनिक गरिँदै आएको छ।

