काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी तथा निजी अस्पतालहरूमा जडान भएका अत्याधुनिक चिकित्सा उपकरणहरूको गुणस्तर तथा विकिरण सुरक्षा अवस्थाबारे विस्तृत अध्ययन तथा अनुगमन गर्न निर्देशन दिएको छ।
मन्त्रालयको मापन तथा नियमन महाशाखाले जारी गरेको पत्रअनुसार वीर अस्पतालका मेडिकल फिजिसिष्ट डा. कञ्चन प्रसाद अधिकारी र रेडियोलोजिष्ट डा. हरिओम जोशीलाई एमआरआई, सीटी स्क्यान, क्याथ ल्याब तथा पेट सीटी स्क्यान जस्ता उपकरणहरूको प्रयोग, मापदण्ड र सुरक्षा व्यवस्थाबारे अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।
अत्याधुनिक इमेजिङ प्रविधिको प्रयोग बढ्दै गएसँगै विकिरण सुरक्षा र उपकरणको गुणस्तरबारे प्रभावकारी अनुगमन आवश्यक देखिएको मन्त्रालयले जनाएको छ। यस अध्ययनले देशभरको वास्तविक अवस्था पहिचान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
मन्त्रालयले यो अध्ययनले स्वास्थ्य सेवामा विकिरण सुरक्षा मापदण्डको कार्यान्वयन सुदृढ गर्न तथा उपकरणहरूको गुणस्तर सुधार गर्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
