काठमाडौं- विदेशमा रहेका नेपाली चिकित्सा विशेषज्ञहरूको ज्ञान र सीपलाई स्वदेशमा उपयोग गर्न सरकारी प्रतिवेदनले सुझाव दिएको छ। सरकारले सार्वजनिक गरेको 'सुशासन मार्गचित्र, २०८२' मा विदेशमा कार्यरत नेपाली डाक्टरहरूलाई नेपालका शिक्षण अस्पतालहरूमा 'भिजिटिङ फ्याकल्टी' का रूपमा भित्र्याउन सुझाव दिइएको हो।
प्रतिवेदन अनुसार विकसित देशहरूमा कार्यरत नेपाली विशेषज्ञहरूलाई स्वदेशका मेडिकल कलेज र अस्पतालहरूमा आबद्ध गराई आधुनिक चिकित्सा प्रविधि र सीप हस्तान्तरण गर्ने संयन्त्र निर्माण गरिनेछ। यसबाट नेपाली विद्यार्थी र चिकित्सकहरूले अन्तर्राष्ट्रिय स्तरको अनुभव र प्रविधि आफ्नै देशमा सिक्ने अवसर पाउने अपेक्षा गरिएको छ।
विदेशमा रहेका नेपाली चिकित्सकहरुले लामो समयदेखि यस्तै सुझाब दिँदै आइरहेका थिए। तर कार्यान्वयनमा भने आउन सकेको थिएन। सरकारले नै गठन गरेको समितिले उक्त सुझाब दिएपछि अब भने यस विषयमा काम अगाडि बढ्ने अपेक्षा गरिएको छ।
सुशीला कार्की नेतृत्वको सरकारले २०८२ पुस १४ मा सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठन गरेको समितिले यो मार्गचित्र तयार पारेको थियो। बालेन सरकारले चैत १५ गते उक्त प्रतिवेदन सार्वजनिक गरेको हो। यो प्रतिवेदनमा विभिन्न मन्त्रालयका ११ सहसचिव, नागरिक समाजका प्रतिनिधि र जेन-जी समूहका सदस्यहरूको सहभागिता रहेको थियो।
समितिमा टंकप्रसाद पाण्डेय, सुरेश पन्थी, एकदेव अधिकारी, कृष्णराज पन्त, गोविन्दप्रसाद रिजाल, सुवासचन्द्र शिवाकोटी, नारायणप्रसाद भट्ट, मोनिका निरौला, सान्केन राई, अन्जन श्रेष्ठ र नारायण अधिकारी सदस्य थिए भने सहसचिव भीष्मकुमार भूसाल सदस्य सचिव थिए।