काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा आनन्दबहादुर चन्दले समाजमा हरेकले आफ्नो सन्तालाई डाक्टर बनाउने खोज्ने प्रवृत्ति रहेपनि त्यो अनुसार स्वास्थ्य क्षेत्रले प्रगति नगरेको बताएका छन्।
‘मुख स्वास्थ्य : अभ्यासका चुनौती र नीतिगत प्राथमिकता’ कार्यक्रममा अध्यक्षता गर्दै प्रतिनिधि सभा सदस्य डा चन्दले देशभर स्वास्थ्य सेवाको अवस्था सन्तोषजनक नभएको स्पष्ट पारे। उनले देशका जुनसुकै क्षेत्रमा हेर्दा पनि स्वास्थ्य प्रणाली कमजोर देखिएको उल्लेख गर्दै नीतिगत र संरचनागत सुधारको खाँचो औंल्याए।
'शिक्षित र प्रभावशाली परिवारहरू आफ्नो सन्तानलाई डाक्टर बनाउन प्राथमिकता दिन्छन्। तर विडम्बना, यही पेशासँग सम्बन्धित नेपालको स्वास्थ्य क्षेत्र भने अझै अव्यवस्थित र कमजोर अवस्थाबाट गुज्रिरहेको छ,' उनले भने।
उनले सवैका लागि स्वीकार्य हुनेगरी कानुन बनाउन खोज्दा नबन्ने कुरा नरहेको बताए। उनले प्रश्न गरे, 'साँच्चै नेपाल मेडिकल काउन्सिलले २०, ५० वा ६० वर्षदेखि कानुन बनाउन (अद्यावधि गर्न) खोजिएको भए, के बन्न सक्दैनथ्यो? २०५२/५३ सालदेखि नै स्वास्थ्य व्यवसायी परिषदको कानुन बनाउन खोजिएको भए, के सम्भव थिएन? कतै हामी आफैंलाई केन्द्रमा राखेर मात्र काम गरिरहेका त छैनौं?'
स्वास्थ्य प्रणाली अझै परम्परागत कागजी प्रक्रियामा अल्झिएको उल्लेख गर्दै उनले डिजिटल प्रणालीमार्फत देशभरको स्वास्थ्य डाटा एकीकृत गर्नुपर्नेमा जोड दिए। अहिले प्रदेश, मन्त्रालय र अन्य निकायबीच समन्वय अभाव हुँदा समेकित तथ्यांक तयार हुन नसकेको उनको भनाइ छ।
जनशक्तिको अभाव चिर्न नयाँ अभ्यास जरुरी भएको समेत बताए। उनले भने, 'जसरी विश्वविद्यालयमा प्रोफेसर रिटायर भएपछि पनि आवश्यकता अनुसार पुनः पढाउन आउन सक्छन्, त्यस्तै गरी सरकारले 'कन्ट्र्याक्ट डाक्टर' वा 'कन्ट्र्याक्ट कन्सल्टेन्ट' प्रणाली ल्याउन सक्छ। यदि सरकारी क्षेत्रमा डाक्टरको अभाव छ भने, निजी क्षेत्रका विशेषज्ञहरूलाई पनि समेट्न सकिन्छ।'
नीति निर्माण प्रक्रियामा पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेको उनले जोड दिए। अब प्रभावका आधारमा होइन, सरोकारवालाहरूको सहभागितामा नीति बनाउनुपर्ने उनको भनाइ छ। “सबै कुरा बिग्रिएको छ भन्ने सोच होइन, भएका कुरालाई सुधार्दै अघि बढ्नुपर्छ,” उनले भने।
डेन्टल क्षेत्र : अवसर छ, तर समानता र स्पष्ट मार्ग आवश्यक
कार्यक्रममा डेन्टल हाइजिनिस्टहरूको अवस्थाबारे पनि चर्चा गर्दै डा. चन्दले यस क्षेत्रमा विश्वव्यापी रूपमा अवसर बढिरहेको बताए। 'हाल ७ प्रतिशतको दरमा बढिरहेको यो पेशा सन् २०३४ सम्म ९ प्रतिशतसम्म पुग्ने अनुमान छ भने विश्वभर अझै करिब २० प्रतिशत पद खाली छन्,' उनले भने।
डेन्टल हाइजिनिस्टहरूको भविष्य सुनिश्चित गर्न करियर ल्याडर स्पष्ट बनाउनुपर्ने बताए। साथै, ब्रिज कोर्सको आवश्यकताबारे पनि पुनरावलोकन गर्नुपर्ने उनको धारणा छ।
अन्त्यमा, उनले नीति निर्माणमा सरोकारवालाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्र सुधारका लागि सबै मिलेर अघि बढ्न आह्वान गरे।