काठमाडौं- नेपाल चिकित्सक संघले सामाजिक सञ्जालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूविरुद्ध अफवाह फैलाउने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले यस्ता गतिविधि तत्काल रोक्न र संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
संघका अनुसार पछिल्लो समय भेरी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको भिडियो बनाएर युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलाउने घटना बढिरहेका छन्।
प्रेस विज्ञप्तिमा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत जनशक्तिमाथि बिना प्रमाण तथ्यहीन आरोप लगाउने कार्य पत्रकारिताको आधारभूत मान्यता र आचारसंहिताविपरीत रहेको उल्लेख गरिएको छ। यस्ता गतिविधिले निरन्तर सेवामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबल घटाउनुका साथै आत्मसम्मानमा गम्भीर चोट पुर्याउने संघको भनाइ छ।
संघले सामाजिक सञ्जालमार्फत फैलाइने अफवाहका कारण आम नागरिक र स्वास्थ्यकर्मीबीच दूरी बढ्ने र स्वास्थ्य सेवाको गुणस्तरमा समेत असर पर्ने चेतावनी दिएको छ। त्यसैले यस्ता अवाञ्छित कार्यमा संलग्न व्यक्तिलाई तुरुन्त कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गरिएको छ।
संघका महासचिव डा. सञ्जिव तिवारीले हस्ताक्षर गरेको विज्ञप्तिमा स्वास्थ्य क्षेत्रको गरिमा जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ।