काठमाडौं- स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेशागत संगठनले स्वास्थ्यकर्मीहरूलाई पनि सातामा दुई दिन बिदा लागू गर्न माग गर्दै एकजुट भएका छन्। उनीहरूले माग पूरा नभए संयुक्त आन्दोलनमा उत्रने संकेतसमेत दिएका छन्।
मेडिकल एशोसिएसनका अध्यक्ष डा. अनिल विक्रम कार्कीको संयोजकत्वमा गठित उक्त समूहमा डेन्टल हाइजेनिस्ट माइकल देवकोटा सदस्य सचिव रहेका छन्। संगठनहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते गरेको निर्णयअनुसार सरकारी कर्मचारीलाई दिइएको सातामा दुई दिन बिदा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूमा पनि लागू हुनुपर्ने स्पष्ट माग गरिएको छ।
विज्ञप्तिमा भनिएको छ कि लामो समयदेखि स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति अभाव र संगठन संरचनाको कमजोरीका कारण स्वास्थ्यकर्मीहरू अत्यधिक कार्यबोझमा परिरहेका छन्। यसले मानसिक तनावसहित विभिन्न समस्या निम्त्याएको यथार्थलाई समेत औंल्याइएको छ।
संगठनहरूको ठहरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयविपरीत स्वास्थ्य क्षेत्रमा दुई दिन बिदा लागू नगर्ने निर्णय कानुनी रूपमा कार्यान्वयनयोग्य छैन। उनीहरूले सरकारलाई निर्णय सच्याउन आग्रह गरेका छन्।
यसैबीच, स्वास्थ्य मन्त्रालयले आइतबारसमेत ओपीडी सेवा सञ्चालन गर्न आग्रह गरेपछि सरकारी अस्पतालहरूमा दबाब सिर्जना भएको छ। केही अस्पतालहरूले भने सेवा नियमित राख्न थालेका छन्।