काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीलाई दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले चैत २७ गते गरेको मन्त्रीस्तरीय निर्णयमार्फत उनलाई उक्त जिम्मेवारी दिइएको हो।
विभागमा दशौँ तहकी वरिष्ठ औषधि व्यवस्थापकका रूपमा कार्यरत खड्गी हाल कार्यरत कर्मचारीमध्ये सबैभन्दा ज्येष्ठ मानिन्छिन्। उनलाई अर्को व्यवस्था नभएसम्म महानिर्देशकको निमित्तको जिम्मेवारी दिइएको हो। उनले यो भूमिकामा आर्थिक तथा प्रशासनिक दायित्वसमेत वहन गर्नेछिन्। जिम्मेवारी पाएको दिनदेखि नै उनले काम सुरु गरिसकेकी छन्।
यसअघि विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई मन्त्री मेहताले चैत २६ गते मन्त्रालयमा तानेकी थिइन्। औषधिको मूल्य निर्धारण प्रक्रियामा कानूनविपरीत काम गरेको आरोप लागेपछि उनलाई फिर्ता बोलाइएको हो।
उक्त विषयमा छानबिन गर्न मन्त्रालयले चैत २७ गते डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।