जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले वृत्ति विकाससम्बन्धी मागहरू तोकिएको समयमै सम्बोधन नभए पुनः कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
पूर्व सहमतिअनुसार वृत्ति विकाससम्बन्धी माग सम्बोधनका लागि दिइएको समयसीमा सकिन लागेकाले सम्पूर्ण पीडित चिकित्सकहरूले स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई समयमै माग सम्बोधन गर्न पत्र लेखेका हुन्।
पीडित चिकित्सकहरूले भनेका छन्, 'विगत छ महिनादेखि वृत्ति विकाससम्बन्धी मागहरूबारे अवगत गराइएको छ। पछिल्लो छलफलमा १० दिनभित्र समस्या समाधान गर्ने सहमति भएकोमा सो समयसीमा समाप्त हुन लागेको जानकारी गराउँछौं।'
समयमै समस्या समाधान नगरिए सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगितसहितका थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन्।
पीडित चिकित्सकहरूले विगत १० वर्षदेखि निरन्तर प्रतिष्ठानमा सेवा प्रदान गर्दै आएको, आवश्यक योग्यता तथा अनुभव पूरा गरेको तथा चिकित्सा शिक्षा आयोगको मापदण्डअनुसार सहप्राध्यापक पद अनिवार्य रहेको तथ्य स्मरण गराएका छन्।
वृत्ति विकासमा ढिलाइ भएमा संस्थाको शैक्षिक गुणस्तर, एमबीबीएस तथा एमडीएमएस कार्यक्रम सञ्चालन र समग्र स्वास्थ्य सेवामा प्रत्यक्ष असर पर्ने उनीहरूको ठहर छ।
त्यसकारण उक्त विषयलाई उच्च प्राथमिकताका साथ शीघ्र, न्यायोचित, पारदर्शी तथा कार्यान्वयनयोग्य निर्णय गर्न प्रतिष्ठान प्रशासनसँग उनीहरूले अनुरोध गरेका छन्।