काठमाडौं- नेपाल मेडिकल काउन्सिल ले अनुमतिविना सञ्चालन हुन लागेको भनिएको आईभीएफ (इन–भिट्रो फर्टिलाइजेसन) सम्बन्धी चिकित्सा शिविर रोक्का गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ।
काउन्सिलले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय काठमाडौं लाई सम्बोधन गर्दै पठाएको पत्रमा सामाजिक सञ्जाल र प्रचार सामग्रीमार्फत १६ अप्रिलमा होटेल याक एन्ड यतिमा आईभीएफ सम्बन्धी परामर्श सेवा सञ्चालन गर्न लागिएको जानकारीप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
काउन्सिलका रजिष्ट्रार डा सतिश देवका अनुसार नेपाल मेडिकल काउन्सिल ऐन २०२० तथा प्रचलित नियमावली २०२४ अनुसार नेपालभित्र कुनै पनि विदेशी वा स्वदेशी चिकित्सक वा संस्थाले चिकित्सा सेवा, परामर्श शिविर वा उपचारसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुअघि काउन्सिलमा दर्ता तथा पूर्व स्वीकृति लिनु अनिवार्य हुन्छ।
तर, उक्त कार्यक्रमसँग सम्बन्धित प्रचार सामग्रीको अध्ययन गर्दा संलग्न चिकित्सक वा संस्थाले काउन्सिलमा विधिवत् दर्ता गरेको वा आवश्यक स्वीकृति लिएको प्रमाण नदेखिएको काउन्सिलले जनाएको छ। काउन्सिलले यसरी अनुमतिविना चिकित्सा सेवा सञ्चालन गर्नु कानूनविपरीत हुनुका साथै जनस्वास्थ्यमा नकारात्मक असर पार्ने सम्भावना रहेको चेतावनी दिएको छ।
पत्रमा प्रशासनलाई उक्त कार्यक्रम तत्काल रोक्का गर्न, आवश्यक छानबिन अघि बढाउन र कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरिएको छ। साथै, भविष्यमा यस्ता गतिविधि सञ्चालन गर्नुअघि अनिवार्य रूपमा सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्ने विषयमा सरोकारवालालाई सचेत गराउन पनि आग्रह गरिएको छ।
उक्त शिविरसँग भारतीय चिकित्सकहरू डा जयदीप मल्होत्रा र नरेन्द्र मल्होत्रालगायत संलग्न रहेको उल्लेख गरिएको छ।
काउन्सिलका रजिष्ट्रार डा. देवले जनस्वास्थ्यसँग सम्बन्धित यस्ता संवेदनशील सेवामा कानुनी प्रक्रिया पालना अनिवार्य रहेको बताएका छन्।