काठमाडौं - काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित बागमती किनारामा जमिन भाडामा लिएर अन्यत्रबाट ल्याइएका औषधि डिस्पोज गर्ने गरेको तथ्य बाहिरिएको छ।
दक्षिणकाली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष जय थापा मगरका अनुसार अनुगमनका क्रममा बागमती किनारामा जमिन भाडामा लिएर अन्यत्रबाट ल्याइएका औषधि डिस्पोज गर्ने गरेको खुलेको हो।
अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका औषधि फेला परेको उनले जानकारी दिए।
वडा कार्यालयले सार्वजनिक स्थानमा यति ठूलो परिमाणमा औषधि फेला पारेपछि इलाका प्रहरी कार्यालय र नगरपालिकाको स्वास्थ्य शाखालाई समेत जानकारी गराएको उनले बताए। हाल प्रहरीले घटनास्थलको मुचुल्का उठाइरहेको जानकारी दिइएको छ।
धेरैजसो प्रयोगमा आउने डाइजिन, सिटामोल र जीवनजल जस्ता म्याद सकिएका औषधि डिस्पोज गर्न लागिएको अवस्थामा फेला परेको अध्यक्ष मगरले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको छ। सार्वजनिक स्थानमा औषधिजन्य पदार्थ डिस्पोज गर्न नपाइने कानुनी व्यवस्था छ।