काठमाडौं- नेपाल चिकित्सक संघको आसन्न निर्वाचनलाई लक्षित गर्दै डा. अरूण शाहीले ३ प्रमुख प्रतिबद्धता र ७ बुँदे एजेन्डा सार्वजनिक गरेका छन्। उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकका उम्मेदवार उनले पेशागत गरिमा, सुरक्षा र चिकित्सकहरूको अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।
डा. शाहीले संघको ऐतिहासिक गरिमा पुनःस्थापित गर्दै संस्थालाई विश्वसनीय र प्रभावशाली बनाउने पहिलो प्रतिबद्धता व्यक्त गरेका छन्। त्यसैगरी, चिकित्सकहरूको समस्या र अन्यायविरुद्ध सशक्त आवाज बन्ने तथा योग्यताको आधारमा अवसर सुनिश्चित गर्ने प्रणालीका लागि लड्ने उनको दोस्रो र तेस्रो प्रतिबद्धता रहेको छ।
उम्मेदवार डा शाहीले चिकित्सकहरूको सुरक्षा र संस्थागत सुधारका लागि ७ वटा मुख्य एजेन्डा अघि सारेका छन्। तीमध्ये चिकित्सक ऐनको प्रभावकारी कार्यान्वयन, कानुनी सुरक्षा व्यवस्था, मेरिट प्रणालीको सुनिश्चितता प्रमुख छन्।
यसका साथै उनले अनलाइन मतदानसहित डिजिटल प्रणाली विकास, आवासीय चिकित्सक तथा मेडिकल अधिकृतको प्रतिनिधित्व, जिल्ला स्तरसम्म संगठन विस्तार तथा संस्थागत पारदर्शिता र जवाफदेहितामा जोड दिएका छन्।
उम्मेदवारी खारेजीदेखि पुनःस्थापनासम्मको संघर्षले आफूलाई अझ परिपक्व र निडर बनाएको उल्लेख गर्दै डा. शाहीले यो अभियान व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि उठेर चिकित्सकहरूको हकहितका लागि भएको बताएका छन्।
---------------------------------------------------------------------------------
सम्पूर्ण अग्रज तथा प्रिय सहकर्मीहरूमा हार्दिक नमस्कार।
नयाँ वर्ष २०८३ को पावन अवसरमा यहाँहरू सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
सहकर्मीहरू,
आगामी दिनहरू हाम्रो पेशाका लागि अत्यन्तै महत्वपूर्ण र निर्णायक बन्ने देखिन्छ। एकातिर नेपाल चिकित्सक संघको निर्वाचन नजिकिँदैछ भने अर्कोतर्फ हाम्रो पेशाको गरिमा, सुरक्षा र विश्वसनीयता जोगाउने चुनौती दिनानुदिन गम्भीर बन्दै गएको छ। यस्तो संवेदनशील समयमा हामी मौन रहने होइन, आफ्नो अधिकार, सम्मान र सुरक्षाका लागि दृढतापूर्वक एकजुट भई उभिनुपर्ने आवश्यकता छ।
मेरो उम्मेदवारी कुनै व्यक्तिगत चाहना वा महत्वाकांक्षाबाट प्रेरित होइन। यो हाम्रो पेशाप्रतिको अटुट निष्ठा र तपाईं सम्पूर्ण सहकर्मीहरूप्रतिको जिम्मेवारीबोधको प्रतिफल हो। चिकित्सकमाथि हुने अन्याय, असुरक्षा र विभेदविरुद्ध सशक्त आवाज उठाउने, पेशाको गरिमा जोगाउने तथा प्रत्येक चिकित्सकलाई सुरक्षित, सम्मानित र न्यायपूर्ण कार्य वातावरण सुनिश्चित गर्ने अठोटका साथ म यो यात्रामा अघि बढेको हुँ।
यो यात्रा सहज थिएन। उम्मेदवारी खारेजीदेखि पुनःस्थापनासम्मको संघर्षले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि निकै कठिन परीक्षा दिएको थियो। तर, यही संघर्षले मलाई अझ परिपक्व, सशक्त र निडर बनाएको छ। मैले आफ्नो लागि होइन, ती हजारौं इमान्दार चिकित्सकहरूको हक र अधिकारका लागि लडेको हुँ, जो राजनीति र दाउपेचभन्दा टाढा रहेर निष्ठापूर्वक आफ्नो कर्तव्यमा समर्पित छन्।
आज म तपाईंहरूसामु आफ्ना स्पष्ट प्रतिबद्धताहरू राख्न चाहन्छु:
🔹 पहिलो प्रतिबद्धता:
नेपाल चिकित्सक संघको ऐतिहासिक गरिमा पुनःस्थापित गर्दै यसलाई पुनः विश्वसनीय, प्रभावशाली र नीति निर्माणमा अग्रणी संस्थाका रूपमा स्थापित गर्नेछु।
🔹 दोस्रो प्रतिबद्धता:
म तपाईंहरूको आफ्नै सहकर्मी हुँ। तपाईंहरूले भोग्नुभएका समस्या, पीडा र अन्यायलाई सम्बन्धित निकायसम्म पुर्याउँदै, म तपाईंहरूको निर्भिक, सशक्त र स्पष्ट आवाज बन्नेछु।
🔹 तेस्रो प्रतिबद्धता:
हामी चिकित्सकहरूको पहिलो प्राथमिकता सधैं बिरामी हुन्छन्। तर, हाम्रो यही समर्पणलाई कमजोरीका रूपमा लिने प्रवृत्ति अब अन्त्य हुनुपर्छ। म योग्यताको सम्मान हुने, क्षमताका आधारमा अवसर सुनिश्चित हुने न्यायपूर्ण प्रणालीका लागि दृढतापूर्वक लड्नेछु।
सहकर्मीहरू,
आज पनि धेरै चिकित्सकहरू असुरक्षित महसुस गरिरहेका छन्। यस अवस्थाको अन्त्य गर्न हामीले ठोस कदम चाल्नैपर्छ। त्यसैले मेरा एजेन्डा स्पष्ट छन्
✔ चिकित्सक ऐनको प्रभावकारी कार्यान्वयनका लागि सशक्त दबाब सिर्जना
✔ चिकित्सकहरूका लागि कानुनी सुरक्षा र आवश्यक सहयोगको व्यवस्था
✔ मेरिट (योग्यता) का आधारमा अवसरको सुनिश्चितता
✔ डिजिटल प्रविधिमैत्री एनएमएका लागि अनलाइन मतदान र डिजिटल प्रणालीको विकास
✔ आवासीय चिकित्सक तथा मेडिकल अधिकृतको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित
✔ जिल्ला स्तरसम्म संगठनको विस्तार र सुदृढीकरण
✔ संस्थामा पारदर्शिता र जवाफदेहिताको अभ्यास
आउनुहोस्, हामी सबै मिलेर एक सक्षम, सम्मानित र सशक्त नेपाल चिकित्सक संघ निर्माण गरौं।
धन्यवाद।
डा. अरूण शाही
क्यान्सर रोग विशेषज्ञ
उम्मेदवार, उपाध्यक्ष तथा बागमती प्रदेश संयोजक
नेपाल चिकित्सक संघ