काठमाडौं- विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसन अफ नेपाल र नेपाल स्वास्थ्य व्यवसायी परिषद्बीच पाँच बुँदे सहमति भएको छ। सहमतिसँगै परिषद्का अध्यक्षको कार्यकक्षमा गरिएको तालाबन्दी खोलिएको छ।
एसोसिएसनले चैत २७ गतेदेखि आफ्ना माग सम्बोधन गर्न दबाबस्वरूप आन्दोलन गर्दै परिषद्का अध्यक्ष सुबोध कुमार शर्माको कार्यकक्षमा तालाबन्दी गरेको थियो। त्यसपछि परिषद्को तर्फबाट चैत ३० गते वार्ताका लागि पत्राचार गरिएको थियो। सोही अनुरूप वैशाख २ गते बसेको वार्तामा दुवै पक्षबीच सहमति कायम भएको हो।
सहमति अनुसार पहिलो बुँदामा उठाइएको माग सम्बोधन गर्न नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपाल मेडिकल काउन्सिललाई पत्राचार गर्ने भएको छ। दोस्रो बुँदासम्बन्धी मागका लागि परिषद्ले सार्वजनिक सूचना प्रकाशित गरिसकेको र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्लाई पनि पत्राचार गरिएको जनाएको छ।
तेस्रो बुँदाको कार्यान्वयनका लागि सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई पत्राचार गरिने सहमति भएको छ भने चौथो बुँदाअनुसार परिषद्का निवर्तमान रजिस्ट्रारहरू र विषय समितिको संयुक्त बैठक आयोजना गरिनेछ।
त्यसैगरी, पाँचौं बुँदा कार्यान्वयनका लागि गृह मन्त्रालयलाई पत्राचार गर्दै स्वास्थ्य मन्त्रालयलाई बोधार्थ दिने सहमति भएको छ।
एसोसिएसनका अध्यक्ष माइकल देवकोटा र नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार रविकान्त मिश्रले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। सहमतिसँगै आन्दोलन अन्त्य गर्दै तालाबन्दी खोलिएको छ।
