काठमाडौं – पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण भइरहेको आमा तथा महिलाहरूको अकाल मृत्यु रोक्न आफूले अघि बढाएको कार्यक्रमलाई परिष्कृत रूपमा निरन्तरता दिन सरकारसँग अनुरोध गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले समयमै परीक्षण नहुँदा कैयौँ आमा तथा महिलाहरूले मृत्युवरण गर्नुपर्ने अवस्था अन्त्य गर्न 'निःशुल्क क्यान्सर परीक्षण स्क्रिनिङ' थालेको स्मरण गरे। मातातीर्थ औंसीको अवसरमा आमाहरूलाई शुभकामना दिँदै उनले यस्तो अनुरोध गरेका हुन्।
‘समाजमा महिलाको स्वास्थ्य दोस्रो प्राथमिकतामा परिरहेको सन्दर्भमा हामीले समयमै परीक्षण नहुँदा कैयौँ आमा, महिलाहरूले मृत्युवरण गर्नुपर्ने त्रासद अवस्था अन्त्य गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहँदा अघि बढाएको निःशुल्क क्यान्सर परीक्षण स्क्रिनिङ सेवा सुरु गरेको आजको महत्त्वपूर्ण दिनमा स्मरण गर्दै वर्तमान सरकारले यसलाई अझ परिष्कृत रूपमा निरन्तरता दिनेछ भन्ने विश्वास व्यक्त गर्दछौँ,’ उनको सन्देशमा उल्लेख छ।
पौडेल मन्त्री रहँदा सबैभन्दा धेरै महिलाको ज्यान जाने कारण मानिएको पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरूको रक्षाका लागि 'एचपीभी खोप अभियान' तथा महिलाहरूको पाठेघर परीक्षणका लागि 'स्क्रिनिङ'लाई राष्ट्रिय कार्यक्रममा समावेश गरेर अभियान थालिएको थियो।
दुवै अभियानको उद्देश्य क्यान्सरका कारण बढिरहेको महिला मृत्यु रोक्नु थियो। मातातीर्थ औंसीको अवसरमा सो निर्णय स्मरण गर्दै पौडेलले यसलाई वर्तमान सरकारको प्राथमिकतामा राख्न सुझाव दिएका हुन्।
‘स्वस्थ महिलाबाट स्वस्थ परिवार अनि समुन्नत राष्ट्र निर्माणको जिम्मेवारी पूरा गर्न हामी सदैव प्रतिबद्ध छौँ,’ पूर्वमन्त्री पौडेलले सन्देशमा भनेका छन्।