काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सप्तरीको राजविराजमा 'रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान' स्थापना गर्न बनेको विधेयकको मस्यौदामा सरोकारवाला र सर्वसाधारणको राय सुझाव माग गरेको छ।
मन्त्रालयले बिहीबारको निर्णयअनुसार विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनका लागि ७ दिनभित्र सुझाव पठाउन सूचना जारी गरिएको हो। इच्छुक व्यक्ति वा संस्थाले मन्त्रालयको कानून शाखाको इमेल ठेगाना [email protected] मा तोकिएको ढाँचामा आफ्नो राय पेश गर्न सक्नेछन्।
यो विधेयकको मुख्य उद्देश्य नेपालको स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानद्वारा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नु रहेको छ। प्रतिष्ठानले सर्वसाधारणलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ, जसले संविधानको धारा ३५ ले प्रदान गरेको स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयनमा सहयोग पुग्ने विश्वास लिइएको छ। प्रतिष्ठानको केन्द्रीय कार्यालय राजविराज नगरपालिकामा रहनेछ भने हाल सञ्चालनमा रहेको गजेन्द्र नारायण सिंह अस्पताललाई नै प्रतिष्ठानको शिक्षण अस्पतालको रूपमा सञ्चालन गरिने व्यवस्था विधेयकमा गरिएको छ।
प्रस्तावित विधेयकमा प्रतिष्ठानको सर्वोच्च निकायको रूपमा सभा रहनेछ, जसको अध्यक्ष (कुलपति) प्रधानमन्त्री र उपाध्यक्ष (सहकुलपति) स्वास्थ्य तथा जनसंख्या मन्त्री रहने व्यवस्था छ। यसबाहेक प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, विद्या परिषद्, पदपूर्ति समिति, संकाय, अनुसन्धान केन्द्र र शिक्षण संस्था जस्ता संगठनात्मक संरचनाहरू रहनेछन्। प्रतिष्ठानलाई स्वाशासित संस्थाको रूपमा विकास गरी यसको छुट्टै कोष रहने र त्यसको अन्तिम लेखापरीक्षण महालेखा परीक्षकबाट हुने व्यवस्था समेत मस्यौदामा उल्लेख छ।
विधेयकले प्रतिष्ठान स्थापना पश्चात् प्रदान गरिने सेवा र गुणस्तरीय अध्ययनबाट प्राप्त हुने आम्दानीले भविष्यमा यो संस्था आत्मनिर्भर बन्ने र यसबाट सरकारको दीर्घकालीन आर्थिक दायित्व कम हुँदै जाने अपेक्षा गरिएको छ। साथै, यो विधेयकले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यअनुसार सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ जीवनको सुनिश्चितता गर्दै समृद्ध जीवनस्तर प्रवर्द्धन गर्न मद्दत पुग्ने उल्लेख गरिएको छ। मन्त्रालयले प्राप्त सुझावहरूलाई समेटेर विधेयकलाई थप परिष्कृत बनाउने योजना बनाएको छ।
हेरौं विधेयकको मस्यौदा