काठमाडौं – सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अब सरकारी अस्पतालहरूमा पनि आइतबार बिदा हुने भएको छ। मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार सरकारी कार्यालयहरूसँगै स्वास्थ्य संस्थाहरूमा पनि शनिबार र आइतबार दुई दिन बिदा दिइने भएको हो।
यसअघि शनिबार मात्र बिदा हुँदै आएकोमा अब आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) लगायतका प्रशासनिक सेवाहरू बन्द रहनेछन्। यद्यपि, अस्पतालको आकस्मिक सेवा (इमर्जेन्सी) र अन्तरङ्ग सेवा (भर्ना भएका बिरामीको उपचार) भने २४सै घण्टा सुचारु रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
'नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार मिति २०८२ चैत्र २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागु भएको सन्दर्भमा स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, सरकारको 'हप्तामा दुई दिन सार्वजनिक बिदा' को नीति अनुरूप आइतबारका पूर्व-निर्धारित शल्यक्रिया (OT) लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरी अन्तरंग र आकस्मिक सेवाहरू सधैझैँ २४ सै घण्टा सुचारु रहने जानकारी गराईन्छ,' मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।
सातामा दुई दिन बिदा दिँदा इन्धनको खपत कम हुने र प्रशासनिक खर्चमा कटौती हुने सरकारको विश्वास छ। तर, बिरामीको चाप बढी हुने सरकारी अस्पतालहरूमा दुई दिन बिदा दिँदा सेवाग्राहीहरूलाई मर्का पर्न सक्ने भन्दै केही स्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। आइतबारको बिदाका कारण सोमबार अस्पतालहरूमा बिरामीको अत्यधिक भीड हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मन्त्रालयले वैकल्पिक व्यवस्थापनका बारेमा पनि छलफल गरिरहेको छ।
नयाँ व्यवस्थाअनुसार सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म तोकिएको छ। यो नियम कार्यान्वयनमा आएपछि बिरामीहरूले अब हप्ताको पाँच दिन मात्र नियमित ओपीडी सेवा पाउनेछन्।
हेरौं विज्ञप्तिको पूर्णपाठ
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार मिति २०८२ चैत्र २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागु भएको सन्दर्भमा स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, सरकारको 'हप्तामा दुई दिन सार्वजनिक बिदा' को नीति अनुरूप आइतबारका पूर्व-निर्धारित शल्यक्रिया (OT) लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरी अन्तरंग र आकस्मिक सेवाहरू सधैझैँ २४ सै घण्टा सुचारु रहने जानकारी गराईन्छ ।
बिदाका दिनहरूमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूले सम्भव भएसम्मका सेवा प्रदान गर्न, उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न र एम्बुलेन्सहरू हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।
सर्वसाधारणको जानकारीका लागि बिदामा उपलब्ध सेवाहरूको विवरण वेबसाइट तथा सूचनापाटीमार्फत प्रवाह गर्नुपर्नेछ भने स्वास्थ्य मन्त्रालयको 'अस्पताल सुधार कार्यविधि, २०८२' को पूर्ण पालना गर्दै आगामी दिनमा संगठन तथा व्यवस्थापन (O&M) सर्भे सम्पन्न भएपछि स्वास्थ्य सेवालाई थप सुदृढ र परिमार्जन गर्दै लगिने प्रतिबद्धता व्यक्त गर्दछौं ।
डा. प्रकाश बुढाथोकी प्रवक्ता