काठमाडौं-अनलाइन परामर्शका नाममा फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा चिकित्सकहरूको बिरामीसँग सम्बन्धित भिडियो सार्वजनिक गरेकोमा नेपाल मेडिकल काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलले सुचना जारी गर्दै सामाजिक सञ्जालमार्फत् विभिन्न रोगहरूको उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने, औषधि सिफारिस गर्ने तथा स्वास्थ्य सम्बन्धी भिडियो सामग्री व्यापक रूपमा प्रसारण गर्ने जस्ता कार्यहरू भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकोले बिरामीको उचित परीक्षण, आवश्यक जाँच तथा काउन्सिलमा दर्ता रहेका चिकित्सकको प्रत्यक्ष मूल्याङ्कन बिना औषधि सेवन गर्न सुझाव दिनु वा त्यस्तो सल्लाह प्रचार गर्नुले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न हुने अनावश्यक जटिलता बढ्न सक्ने ठहर गर्दै त्यसले दीर्घकालीन हानी समेत गर्न सुचनामा उल्लेख छ।
काउन्सिलले चिकित्सकलाई बिरामीसँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक नगर्न गर्नैपर्ने अवस्था भएमा बिरामीको अनुहार र पहिचान नखुलाउन तथा सामाजिक सञ्जाल मार्फत परीक्षण बिना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन समेत दिएको छ ।
साथै स्वास्थ्य सम्बन्धी कुनै पनि जानकारी वा परामर्श दिँदा वैज्ञानिक आधार प्रमाणित तथ्य र पेशागत आचारसंहिताको पूर्णपालना गर्न तथा बिरामीहरूलाई सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगरी योग्य तथा दर्ता प्राप्त चिकित्सकसँग मात्र परामर्श लिन सुझाव समेत काउन्सिलले दिएको छ ।