काठमाडौं– नेपाल मेडिकल कलेजले संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति डा. ओजश्वी शेरचनलाई सम्मान गरेको छ। आज शुक्रबार एक कार्यक्रम आयोजना गरी कलेजको बायोकेमेस्ट्री विभागकी पूर्व सह–प्राध्यापक समेत रहेकी समिति सभापति डा. शेरचनलाई सम्मान गरिएको हो।
कार्यक्रममा कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी, प्रबन्ध निर्देशक डा. सबिहा यासमिन लगायतले सम्मान गरेका छन्। सो अवसरमा बोल्दै सभापति डा. शेरचनले चिकित्सा शिक्षा क्षेत्रको विकास र स्वास्थ्य क्षेत्रमा व्यापक सुधारका लागि आफूहरूले काम गरिरहेको बताएकी छन्। उनले स्वास्थ्य बीमामा देखिएका समस्याहरू समाधानका लागि पनि आफूहरूले गृहकार्य गरिरहेको जिकिर गर्दै निजी क्षेत्रले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा ठूलो टेवा दिएको चर्चा गरिन्। सरकार र निजी क्षेत्र सँगसँगै अघि बढ्नुपर्ने उनले उल्लेख गरिन्।
कार्यक्रमका सभापति समेत रहेका कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले निजी मेडिकल कलेज र स्वास्थ्य संस्थाहरूका समस्या समाधानमा सरकारले ठोस योजना बनाउनुपर्ने बताएका छन्। सरकारले ल्याएका सबै प्रकारका स्वास्थ्य सेवाका कार्यक्रमहरू निजी क्षेत्रले सञ्चालन गरे पनि राज्यले त्यसअनुरूप निजी क्षेत्रलाई समेट्न नसकेको बताउँदै उनले स्वास्थ्य बीमा कार्यक्रम, गरिब तथा विपन्न नागरिकलाई दिने निःशुल्क स्वास्थ्य सेवा लगायतमा देखिएका समस्याहरू समाधानका लागि पहल गर्न अनुरोध गरेका छन्।
यस्तै, कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले पनि निजी क्षेत्रले स्वास्थ्य सेवा र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले सरकारले निजी क्षेत्रको भूमिकालाई स्वीकार गर्नुपर्नेमा जोड दिएकी छन्। समिति सभापति डा. शेरचनले चिकित्सा शिक्षा क्षेत्रका नीतिगत र कानुनी समस्याहरू समाधान गर्न पहल गर्नुपर्नेमा जोड दिएकी छन्।
कार्यक्रममा प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा. निलमणि उपाध्याय लगायत विभागीय प्रमुखहरूले शुभकामना दिएका छन्।