काठमाडौं- 'पूर्ण खोप: सुरक्षित भविष्य' भन्ने नाराका साथ आज वैशाख ११ देखि १७ गतेसम्म विश्व खोप सप्ताह सुरु भएको छ। यसै अवसरमा प्रधानमन्त्री कार्यालयले एक विशेष सन्देश जारी गर्दै आफ्ना बालबालिकालाई नियमित खोप लगाउन आम नागरिकमा आग्रह गरेको छ।
सरकारले देशभरका सबै सरकारी स्वास्थ्य संस्थाहरूबाट जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा घातक रोगविरुद्ध ९ प्रकारका खोपहरू पूर्ण रूपमा निःशुल्क प्रदान गर्दै आएको छ। प्रधानमन्त्री कार्यालयको सन्देशमा भनिएको छ, 'आफ्ना बालबालिकाको खोप कार्ड नियमित हेर्नुहोस् र कुनै पनि खोप छुटेका छन् भने तुरुन्त नजिकैको स्वास्थ्य केन्द्रमा गएर लगाउनुहोस्।'
सरकारले खोप पूर्णतः सुरक्षित रहेको र यसले बालबालिकाको जीवन रक्षा गर्ने तथ्यलाई पुन: जोड दिएको छ। खोपले बालबालिकाहरूलाई विभिन्न संक्रामक रोगहरूबाट जोगाउने मात्र नभई उनीहरूको भविष्यलाई समेत सुरक्षित बनाउन मद्दत गर्दछ।
नेपाल सरकारले प्रदान गर्ने सबै खोपहरु नेपालभरका वडा तहका स्वास्थ्य चौकीदेखि ठूला सरकारी अस्पतालसम्म निःशुल्क उपलब्ध छन्। कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुन् भन्ने उद्देश्यले वैशाख ११ देखि १७ सम्म देशभर विभिन्न चेतनामूलक कार्यक्रमहरूसहित खोप सप्ताह मनाइँदै छ।
प्रधानमन्त्री कार्यालयले खोपको पहुँच सबै बालबालिकामा पुर्याउन स्वास्थ्यकर्मी, अभिभावक र सरोकारवाला निकायहरूलाई सक्रिय रहन समेत आह्वान गरेको छ।