दुबई — नेपाली रक्तदाता सङ्घ युएईको प्रथम ऐतिहासिक अधिवेशन आउँदो मे १७ मा दुबईमा भव्य रूपमा आयोजना हुने भएको छ।
युएईमा रहेका नेपालीहरूलाई ‘रक्तदान जीवन दान’ भन्ने मूल नारासहित मानव सेवामा एकजुट गराउने उद्देश्यले सन् २०२६–२०२८ कार्यकालका लागि पहिलो पटक अधिवेशन गर्न लागिएको हो।
अधिवेशनका लागि प्रवास नेपाली सम्पर्क विभाग युएईका सभापति तथा सङ्घका सल्लाहकार सुजन थापाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ। समितिले युएईस्थित नेपाली जातीय तथा जिल्ला स्तरीय सङ्घसंस्था र समाजसेवीहरूसँग परामर्श गरिरहेको जनाएको छ।
युएईमा सन् २०२० मा तदर्थ समिति गठन गरी गतिविधि सुरु गरिए पनि केही समय निष्क्रिय बनेको सङ्घलाई सन् २०२४ देखि पुनः सक्रिय बनाइएको थियो। अब संस्थालाई औपचारिक र दिगो रूपमा अघि बढाउन अधिवेशन गर्न लागिएको अन्तर्राष्ट्रिय रक्तदाता सङ्घका कोषाध्यक्ष तथा सङ्घका संरक्षक सुनिल राज श्रेष्ठले जानकारी दिए।
संस्थाका अध्यक्ष वासुदेव ढुङ्गानाले ‘रक्तदान जीवन दान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विशुद्ध सामाजिक सेवाको उद्देश्यले अधिवेशनको मिति र स्थान तय गरिएको बताए।
यसअघि सङ्घले सन् २०२४ जुन १७ मा ‘डीएचए’सँग सहकार्य गर्दै रक्तदान कार्यक्रम सुरु गरेको थियो। हालसम्म पाँच पटक रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको सङ्घले आगामी दिनमा यस अभियानलाई अझ विस्तार गर्ने लक्ष्य लिएको छ।