काठमाडौँ - नेपाल चिकित्सक संघको निर्वाचन अन्तर्गत सहसचिव पदको मतगणनामा डा. हुलास अग्रवालको जित लगभग निश्चित भएको छ। हालसम्मको मतपरिणाम अनुसार उनी उल्लेखनीय अन्तरसहित अग्रस्थानमा रहेका छन्।
प्राप्त विवरणअनुसार डा. हुलास अग्रवालले ३,१२६ मत प्राप्त गर्दै ५४.५८ प्रतिशत मतसहित पहिलो स्थानमा अग्रता कायम गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी डा. राम जीवन प्रसादले १,३९९ मत (२४.४३ प्रतिशत) प्राप्त गरेका छन् भने डा. सन्तोष अधिकारीले १,२०२ मत (२०.९९ प्रतिशत) हासिल गरेका छन्।
अहिलेसम्म कुल ६,२६५ मत गणना भइसकेको छ, जसमा ५,७२७ मत वैध ठहरिएका छन् भने ५३८ मत बदर भएका छन्। अब करिब ८०० मत गणना हुन बाँकी रहे पनि अग्रवालले लिएको ठूलो मतान्तरका कारण उनको जित पक्का जस्तै देखिएको छ।