काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ को निर्वाचनमा स्वास्थ्य क्षेत्रबाट तीनजना प्रतिनिधि निर्वाचित भएका छन्।
एसोसिएटतर्फ ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी निर्वाचित भएका हुन्। वस्तुगततर्फ मेडिकल उपकरण व्यवसायी भक्तबहादुर हमाल तथा नेपाल औषधि उत्पादक संघ का अध्यक्ष विप्लव अधिकारी निर्वाचित भएका छन्।
अधिकारी र उनका प्रतिस्पर्धीबीच समान ५०–५० मत आएपछि दुवैले आधा–आधा कार्यकाल सम्हाल्ने सहमति गरेका छन्।
महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ नियुक्त भएका छन्। महासंघको विधानअनुसार अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेकाले उनी उक्त पदमा पुगेका हुन्।
श्रेष्ठ २०५९ सालमा महासंघमा कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेका थिए। त्यसयता उनले राजस्व समिति उपसभापति, उद्योग समिति सभापति तथा रोजगारदाता परिषद सदस्य लगायत विभिन्न जिम्मेवारी सम्हालेका छन्। उनी महासंघको ५७औँ साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए।
व्यवसायिक रूपमा श्रेष्ठ लक्ष्मी ग्रुप सँग आबद्ध छन्।