काठमाडौं- सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। तर स्वास्थ्य क्षेत्रअन्तर्गतका विश्वविद्यालय तथा स्वास्थ्य प्रतिष्ठानमा भने उपकुलपति छनोट प्रक्रिया अझै सुरु हुन सकेको छैन।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत गठित विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न बनेको छनोट तथा सिफारिस समितिले शुक्रबार सूचना जारी गर्दै आवेदन माग गरेको हो।
सूचनाअनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय का रिक्त उपकुलपति पदका लागि आवेदन खुला गरिएको छ।
समितिले मिति २०८३ वैशाख २४ गते स्वीकृत “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३” बमोजिम इच्छुक तथा योग्य व्यक्तिबाट आवेदन माग गरेको जनाएको छ। सूचना पहिलो पटक प्रकाशित भएको मितिले १० दिनभित्र मन्त्रालयको वेबसाइटमा उपलब्ध लिंकमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ। मन्त्रालयले सम्बन्धित कार्यविधि पनि वेबसाइटमा सार्वजनिक गरेको जनाएको छ।
तर शिक्षा क्षेत्रका विश्वविद्यालयमा प्रक्रिया अघि बढे पनि स्वास्थ्य क्षेत्रका संस्थामा भने अन्योल कायम छ। स्वास्थ्य क्षेत्रको एकमात्र विश्वविद्यालय शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सहित विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति तथा प्रमुख पद रिक्त भए पनि सरकारले छनोट प्रक्रिया सुरु गरेको छैन।
यसअघि सरकारले अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी हटाएपछि नयाँ नियुक्ति प्रक्रिया चाँडै अघि बढ्ने अपेक्षा गरिएको थियो।