काठमाडौं- एशिएन फर्मास्युटिकल्स प्रालिले नेपालमा ग्यास्ट्राइटिस र पेटको एसिड सम्बन्धी समस्याको उपचारमा प्रयोग हुने नयाँ औषधि भीप्राज (भोनोप्राजन) बजारमा ल्याएको छ।
यसअघि सर्वसाधारण र चिकित्सकहरू माझ 'प्यान्टप' जस्तो लोकप्रिय औषधि उत्पादन गर्दै आएको एशिएनले नेपालमै पहिलो पटक यो नयाँ औषधि भीप्राज ल्याएको हो।भोनोप्राजन ग्यास्ट्राइटिस र यस सम्बन्धी पेटको समस्यामा उपचारका लागि एक नयाँ (न्यू क्लास मोलिक्युल-पिसिएबी) वर्गको प्रभावकारी औषधिको रूपमा विभिन्न देशहरूमा प्रयोग भइरहेको छ ।
जापानमा सन् २०१५ मा र अमेरिकी औषधि नियामक निकाय (यूएसएफडीए) बाट सन् २०२२ मा स्वीकृत भएको यो औषधिको आवश्यकता नेपाली चिकित्सकहरूले पनि लामो समयदेखि औंल्याउँदै आएका थिए। सोही आवश्यकतालाई मध्यनजर गर्दै झण्डै ४ वर्षको अध्ययन, अनुसन्धान र सरकारी प्रक्रिया पूरा गरी यसलाई नेपाली बजारमा ल्याइएको एशिएनका कार्यकारी निर्देशक शंकर घिमिरेले जानकारी दिए।
'हामीले नेपाली बिरामीहरूलाई विश्वस्तरीय र आधुनिक उपचार पद्धतिसँग जोड्न सधैं प्रयास गरिरहेका छौँ। 'भीप्राज' को आगमनसँगै नेपालमा ग्यास्ट्राइटिस र पेटको एसिड रिलेटेड डिसअर्डकोको उपचारमा एक नयाँ अध्याय सुरु भएको छ,' औषधि सार्वजनिक गर्दै एशिएन फर्मास्युटिकल्सका कार्यकारी निर्देशक घिमिरेले भने।
विशेषगरी परम्परागत औषधिले काम नगरेका बिरामीहरूका लागि यो निकै प्रभावकारी साबित हुनेछ।यो औषधि भीप्राज- 10 र भीप्राज-20 गरी दुईवटा मात्रामा उपलब्ध छ। विशेषज्ञहरूका अनुसार यस औषधिलाई खाना खानुअघि वा पछि जुनसुकै समयमा चिकित्सकको सल्लाह बमोजिम सेवन गर्न सकिन्छ।
विशेषगरी परम्परागत औषधिहरूबाट पर्याप्त लाभ नपाएका बिरामीहरू (रेसिस्टेन्स केस) मा यसले छिटो र प्रभावकारी नतिजा देखाउने कम्पनीले जनाएको छ।
ब्रेल लिपिमा पनि औषधिको नाम
एशिएनले पहिलो पटक औषधिको बट्टामा ब्रेल लिपिमा नाम प्रिन्ट गरेको छ, जसले गर्दा दृष्टिविहीन बिरामीहरूलाई औषधि पहिचान गर्न सहज हुने विश्वास गरिएको छ।