धनगढी- कैलालीको धनगढी र अत्तरिया क्षेत्रमा सञ्चालित डेन्टल क्लिनिकहरूले जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको पाइएको छ। नेपाल मेडिकल काउन्सिलले गरेको स्थलगत अनुगमनका क्रममा दर्ता नभएका, चिकित्सक नभएका र न्यूनतम् स्वास्थ्य मापदण्ड समेत पालना नगरेका क्लिनिकहरूको भयावह अवस्था फेला परेको हो।
नेपाल डेन्टल एसोसिएसन कैलाली शाखाको पत्राचार र जनगुनासोका आधारमा काउन्सिलले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा २०८२ वैशाख २२ गते धनगढी तथा अत्तरिया क्षेत्रमा विशेष अनुगमन गरेको थियो।
अनुगमनका क्रममा स्मृति डेन्टल क्लिनिकमा कार्यालय सहयोगीले नै बिरामीको दाँत स्केलिङ गरिरहेको रङ्गहात फेला परेको छ। सो क्लिनिकमा सरकारी अस्पतालमा कार्यरत डा. सिमरन पन्तको नाममा पार्ट-टाइम बोर्ड राखिए पनि बाँकी समय सञ्चालक आफैँ उपचारमा संलग्न हुने गरेको पाइएको छ।
त्यस्तै, अत्तरियाको शिखर डेन्टलमा डेन्टल हाइजिनिस्ट मीन देउवा आफैँले दाँतको जरादेखि उपचार (आरसिटी) गरिरहेको अवस्थामा टोलीले फेला पारेको थियो। उनले चिकित्सकको अनुपस्थितिमा सम्पूर्ण उपचार समेत उनले नै गर्ने गरेको बयान समेत दिएका छन्।
न्यु धनगढी डेन्टलका सञ्चालक पदम भट्टले पनि चिकित्सकको अनुपस्थितिमा आफैँले उपचार गर्ने गरेको स्वीकार गरेका छन्। स्माइल डेन्टल क्लिनिकमा डा. हरिओम महतोको नाम प्रयोग गरिए पनि उनी क्लिनिकमा कहिल्यै नआउने र सञ्चालक रोशन रेग्मीले नै सबै उपचार गर्ने गरेको खुलासा भएको छ।
अनुगमन टोली देखेपछि सटर बन्द गरेर फरार
काउन्सिलको टोली अनुगमनमा आएको पूर्वसूचना पाएपछि युनिभर्सल डेन्टल, श्री राम डेन्टल र उग्रतारा डेन्टल क्लिनिक दिउँसो २ बजे नै सटर बन्द गरेर भागेका थिए। यस्तै न्यु समाज डेन्टल र लाविस सेवा डेन्टल पनि अनुगमन टोली पुग्नुअघि नै बन्द गरिएका थिए।
अनुगमन टोलीका अनुसार अधिकांश क्लिनिकहरूमा औजार निसंक्रमणको कुनै व्यवस्थित प्रक्रिया छैन। अटोक्लेभ मेसिनको अभाव, पीपीईको न्यून प्रयोग र बायोमेडिकल फोहोर व्यवस्थापनको चरम लापरबाहीले गर्दा बिरामीहरूमा एचआईभी, हेपाटाइटिस जस्ता संक्रामक रोग सर्ने उच्च जोखिम देखिएको छ। धेरैजसो क्लिनिकहरू स्वास्थ्य कार्यालयमा नवीकरण समेत नगरिएको पाइएको छ।
नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अजय कुमार शाहको नेतृत्वमा डा. विकास खड्का, डा. अमृत राज जैसी र जेनित कुँवर सम्मिलित टोलीले यस अवस्थालाई 'जनस्वास्थ्यका लागि उच्च जोखिमपूर्ण' ठहर गरेको छ।
टोलीले मापदण्ड उल्लंघन गर्ने क्लिनिकहरूलाई तत्काल बन्द गर्न, गैर-दर्ता व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन र मेडिकल काउन्सिल ऐन अनुसार कानुनी प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको छ। काउन्सिलले सर्वसाधारणलाई पनि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका आधिकारिक चिकित्सकबाट मात्र उपचार गराउन अपिल गरेको छ।