अछाम- अछामस्थित बयालपाटा प्रादेशिक अस्पतालमा आज (शुक्रबार) देखि 'चौथो ग्रामीण ट्रमा सम्मेलन २०२६' सुरु भएको छ। शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने यस सम्मेलनको सम्पूर्ण तयारी पूरा भएसँगै आजबाट औपचारिक कार्यक्रमहरू सुरु भएका हुन्।
नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रको हाडजोर्नी तथा ट्रमा केयर (चोटपटक उपचार) प्रणालीमा सुधार ल्याउने मुख्य उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. मन्दिप पाठकले जानकारी दिए। उनका अनुसार सुदूरपश्चिम र कर्णालीका दुर्गम क्षेत्रका बिरामीलाई गुणस्तरीय ट्रमा सेवाको पहुँचमा ल्याउन र उपचार पद्धतिमा भइरहेका नयाँ विकासबारे जानकारी आदानप्रदान गर्न यो सम्मेलन कोशेढुङ्गा सावित हुनेछ।
सम्मेलनमा नेपाल र विदेशका ख्यातिप्राप्त विशेषज्ञहरूको सहभागिता रहेको छ। अर्थोपेडिक सर्जन डा. भाष्कर राज पन्त, नेपाल अर्थोपेडिक एशोसिएसनका पूर्व अध्यक्ष डा. अनिल बहादुर श्रेष्ठ, अमेरिकाको ब्राउन विश्वविद्यालयका सहायक प्राध्यापक डा. रामु खरेल, आकस्मिक चिकित्सक डा. ओलिटा शिल्पकार र ब्राउन विश्वविद्यालयकै डा. एमी एलेन लगायतले सम्मेलनमा मुख्य प्रस्तुति दिने कार्यक्रम छ।
सम्मेलनको पहिलो दिन आज विशेषज्ञ डाक्टरहरूद्वारा एकदिने विशेष कार्यशाला सञ्चालन भइरहेको छ। कार्यशालामा भिडियो एक्सरे मार्फत हड्डीको चोटपटक, पेटका समस्या र नशामा रगत जम्ने जस्ता जटिलता कसरी पहिचान गर्ने भन्नेबारे व्यावहारिक ज्ञान दिइनेछ। यसमा आकस्मिक विभागमा कार्यरत स्वास्थ्यकर्मी, एमडिजीपी डाक्टर र मेडिकल अधिकृतहरूको सहभागिता रहेको छ। भोलि शनिबार ग्रामीण ट्रमा केयर र हाडजोर्नी उपचारका नयाँ पद्धति र चुनौतीबारे कार्यपत्रहरू प्रस्तुत गरिनेछ।
प्रादेशिक अस्पतालको उद्घाटन र नयाँ सेवा थप
यसै सन्दर्भमा, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बयालपाटा प्रादेशिक अस्पतालको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ। २०८२ भदौ १ गतेदेखि प्रदेश सरकारको पूर्ण स्वामित्वमा आएपछि अस्पतालको औपचारिक उद्घाटन हुन लागेको हो। विगत १७ वर्षदेखि न्याय हेल्थ नेपालको व्यवस्थापनमा सञ्चालित यो अस्पताल अहिले प्रदेश सरकार मातहत सञ्चालनमा छ।
अस्पतालले आजैदेखि 'ट्रमा युनिट' र 'ब्लड बैंक' पनि स्थापना गरी सेवा सुरु गर्दैछ। यस क्षेत्रमा चोटपटक र हाडजोर्नीका बिरामीको चाप उच्च रहेकाले छुट्टै ट्रमा युनिट सञ्चालन गर्न लागिएको र शल्यक्रियाका क्रममा हुने रगतको अभाव टार्न ब्लड बैंक स्थापना गरिएको डा. पाठकले बताए।
सन् २०१८ देखि बयालपाटामा सुरु भएको यो ग्रामीण ट्रमा सम्मेलनको चौथो संस्करणमा हाप्सा नेपाल सह-आयोजकको रूपमा रहेको छ भने न्याय हेल्थ नेपाल, नेपाल अर्थोपेडिक एशोसिएसन, साइन फ्र्याक्चर केयर इन्टरनेशनल र नेपाल मेडले प्राविधिक सहयोग गरेका छन्।