जनकपुर — दरबन्दी थप प्रक्रियामा विभेद गरिएको आरोप लगाउँदै स्वास्थ्यकर्मीहरूले जनकपुरमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा समेत माग गरेका छन्।
स्वास्थ्यकर्मीहरूले दरबन्दी थप गर्दा निष्पक्षता अपनाउनुपर्ने माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले आफूहरूमाथि अन्याय भएको दाबी गर्दै निर्णय सच्याउन चेतावनी दिएका छन्।
शनिबार धनुषाका विभिन्न सरकारी तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू(हेल्थ असिस्टेन्ट, अनमी, ल्याब असिस्टेन्टलगायत)ले मन्त्री मेहताविरुद्ध प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले ‘स्वास्थ्यमन्त्री मुर्दावाद’, ‘निशा मेहता राजीनामा दे’, ‘हेपाइ होइन, अधिकार चाहिन्छ’, ‘स्वास्थ्य क्षेत्रमा विभेद बन्द गर’ तथा ‘स्वास्थ्यकर्मीको अपमान बन्द गर’ जस्ता नारा लगाउँदै जनकपुरधामका विभिन्न चोकमा र्याली निकाले।
सरकारले दुई दिनअघि मात्रै स्वास्थ्य क्षेत्रमा ठूलो संख्यामा दरबन्दी आह्वान गरे पनि हेल्थ असिस्टेन्टलगायतका पदमा कुनै दरबन्दी नखोलिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।
स्वास्थ्यकर्मी नवेश अधिकारीका अनुसार ३५ वर्षपछि स्वास्थ्य क्षेत्रमा खुलाइएको दरबन्दीमा हेल्थ असिस्टेन्ट, ल्याब, रेडियोलोजी, सिएमएलगायत पदमा शून्य दरबन्दी राखिनु स्वास्थ्यमन्त्री मेहताबाट भएको विभेद हो।
उनले नर्सिङ र डाक्टरबाहेक अन्य स्वास्थ्यसम्बन्धी पदमा दरबन्दी नखोलिनुले देशमा ती जनशक्तिको आवश्यकता नै छैन भन्ने सन्देश गएको बताए।
अधिकारीका अनुसार नेपालमा हरेक वर्ष ५ हजार ३०० भन्दा बढी स्वास्थ्यकर्मी उत्पादन हुने गरे पनि उनीहरूका लागि दरबन्दी खुलाइँदैन। “यदि दरबन्दी नै नखोल्ने हो भने सम्बन्धित विषयको पढाइ नै बन्द गर्नु उपयुक्त हुन्छ,” उनले भने।
सरकारले दुई दिनभित्र निर्णय सच्याएर सम्बन्धित पदमा दरबन्दी नखोले सोमबार, वैशाख २८ गते, काठमाडौंमा विशाल प्रदर्शन गर्ने चेतावनीसमेत स्वास्थ्यकर्मीहरूले दिएका छन्।